धरान । झापाको मेचीनगर नगरपालिका ६ बाट लागूऔषधसहित दुईजनालाई नियन्त्रणमा लिइएको छ । 

शनिबार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध ब्यूरोको संयुक्त टोलीले गाडीसहित झापा बाह्रदर्शी ६ का ३० वर्षीय पुरन राई र बिर्तामोड १ का ३५ वर्षीय नागेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले प्रदेश ३–०१–०२४ च ८००० नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ । पुरन सोही गाडीका चालक हुन् भने यादवको स्थायी घर सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका ५ हो । उनीहरूको साथबाट खैरो हिरोइन २ ग्राम ८०० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यस्तै शनिबार नै मोरङ रतुवामाई नगरपालिका–४ भद्रचोकबाट उर्लाबारी नगरपालिका–७ का एकजना बालक र सोही स्थानका १९ वर्षीय अभिषेक ओलीलाई प्रतिबन्धित औषधि र लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरी चौकी झुर्कियाको टोलीले नाइट्रोभेट ३० ट्याब्लेट, कोरेक्स १ बोतल, ट्रमाडोल हाइड्रोक्लोराइड ६६० ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।