धनकुटा । धनकुटामा फरक क्षमता भएका ७ वटा स्रोत कक्षामा २ सय ९५ जना फरक क्षमता भएका बालबालिका रहेको पाइएको छ ।

मानव अधिकार सामाजिक सचेतना विकास केन्द्र (हुसाडेक) नेपालले आयोजना गरेको सेवा प्रदायक र सरोकारवाला निकाय बीच भएको छलफलमा सो तथ्यांक सार्वजनिक गरिएको छ ।

धनकुटा जिल्लामा सञ्चालित सबैका शिक्षा कार्यक्रमका लागि कक्षा १ देखि ३ सम्मका ७ हजार ८ सय १२ जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा २ सय ९५ जना फरक क्षमता भएको बालबालिका पाइएको हो । ती बालबालिकाका लागि सञ्चालित कक्षामा निजी स्रोतका शिक्षकको भरमा सञ्चालन गर्नुपरेको कार्यक्रम संयोजक खिन्द्र अधिकारीले जानकारी दिए ।

१० जना विद्यार्थी बराबर एक स्रोत कक्षा भनेर सरकारी निति रहेको भएपनि निजी स्रोतका शिक्षकको भरमा सञ्चालन गर्नुपरेको बताइएको छ । फरक क्षमता भएका बालबालिकहरुलाई यस्ता कार्यक्रमले क्षमता विकास गरेर सबल बनाउन केही न केही सहयोग पुगेको हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले सुन्दर समाज निर्माणमा यस्ता कार्यक्रमले सहयोग गरेको बताए । सो अवसरमा उप–प्रमुख सावित्रा राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, फोनिज प्रदेश नं.१ अध्यक्ष सन्तवीर लामा, गह्रै सरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मिन सुवेदी, नयाँ नेपाल विचार साप्ताहिकका सम्पादक तिलक प्रसाद राई लगायतले कार्यक्रमको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।