विराटनगर । कानूनले वर्जित गरेको गाँजा तस्करी धन्दामा लागेका गिरोहले अनेक जुक्ति लगाएर यसको तस्करी गर्ने गरेको पाइएको छ । बन्दाकोपी बोकेर भारततिर जान लागेको ट्रकमा प्रहरीले १ सय ५६ केजी गाँजा बरामद गरेपछि गिरोहले जस्तोसुकै उपाय लगाएर भए पनि तस्करी गर्ने गरेको देखिएको हो ।

प्रदेश १–०२–००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दाकोपी बोकेर हिँडेको ट्रकभित्र सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोष्ट) रानी विराटनगर र इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राति गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
धनकुटाको सिँधुवाबाट मिनी ट्रकभित्र ४६ बोरा बन्दाकोपी लोड गरेको थियो । त्येही कोपीभित्र मुनि धरान र भेडेटारको बीच जङ्गलमा ६ बोरा अर्थात् १ सय ५६ केजी गाँजा सो मिनी ट्रकमा राखेर ल्याएका थिए ।

माथिबाट बन्दाकोपी र मुनि गाँजा राखेर भारत लैजाने क्रममा प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । प्रहरीले ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–३ का २९ वर्षीय विवेक राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

गाँजा बरामद गरेको ट्रकले पुरानो विराटनगर भन्सार कार्यालयअगाडिको २ नं. ढाटमा ठक्कर दिएको थियो । ‘आइसिपीतिर जानुपर्ने मिनी ट्रक पुरानो भन्सार कार्यालयतर्फ मोडिएपछि प्रहरीले शङ्का गरेर गाडीलाई पछ्याउँदै गएको थियो । प्रहरीको चहलपहल देखेर आत्तिएका ट्रक चालक राईले शुक्रबार राति १० बजे २ नम्बर ढाटमा पुगेपछि गाडीले ठक्कर दियो’ एसपी कोइरालाले भने, ‘ड्युटीमा खटिएका प्रहरीले चालक र गाडी तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा गाँजा भेटिएको हो ।’

गाँजा तस्करी धन्दा चलाउने गिरोहले गन्तव्यसम्म पु¥याउन निकै चलाखी गरेको पाइएको छ । ‘प्रहरीलाई झुक्याउन तस्करी धन्दामा लागेका गिरोहले अनेक जुक्ति लगाउने गर्दछन्’ अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘तरकारी बोकेको गाडीमा राखेर गाँजा तस्करी भएको जानकारी पाएपछि पछ्याउँदै नेपाल–भारतको बोर्डर नजिकबाट समात्न सफल भएका छौँ ।’

भारततिर गाँजा तस्करी हुने गरेको गोप्य सूचना पाएसँगै ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले बताए । ‘सूचना पाएसँगै हामीले विभिन्न तवरबाट त्यस क्षेत्रमा गस्ती बढाउँदै गएका थियौं, त्यसैको परिणाम ठूलो परिमाणमा गाँजा बरामद गरेका छौँ’–उनले भने । डिआइजी गिरीले गाँजा तस्करको सञ्जाल बढ्दै गएको र उनीहरूले बेलाबखत रूट परिवर्तन गरिरहने भएकाले मातहतका आफ्ना युनिटमा नियन्त्रणका लागि योजनासहित निर्देशन दिइएको बताए । गाँजा लगाइएका क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गरी फँडानी, नष्ट गर्ने, सम्भावित रूटमा गस्ती बढाउने बरामदपछि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने गरेको उनले बताए ।

कानूनले वर्जित गरेको लागू औषध बरामद गरेको र ल्याउने व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएको मोरङ प्रहरीका एसपी कोइरालाले बताए । अवैध धन्दा चलाइरहेकाहरू सीमा क्षेत्रमा सक्रिय भएको हुनसक्ने भएकोले उच्च सतर्कता अपनाइएको उनले बताए । उनले भने, ‘लागूऔषध ओसार–पसारलगायतका अवैध धन्दा नियन्त्रणमा लिन २४ घण्टा नै विशेष टोली परिचालन गरिएको छ ।’ सीमा क्षेत्रबाट हुनसक्ने सबै खालका अवैध गतिविधि र गलत धन्दा नियन्त्रणमा लिन सक्रियतापूर्वक निगरानी बढाइएको उनको भनाइ छ ।

सशस्त्र प्रहरीले यसअघि पनि यसरी नै तरकारीको गाडीमा  भारत तस्करी हुन लागेको गाँजा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रबाट १ सय ४८ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो । धन्दामा लागेका गिरोहले गाँजाको बास्ना हराउन सडेको तरकारी मिनी ट्रक भरि हालेको र मुनिबाट गाँजा राखेको पाइएको प्रहरीले जनाएको छ । धनकुटाबाट ल्याएर प्रदेश १–०२००१ ख ८६१४ नम्बरको मिनी ट्रकमा भारततर्फ लैजान तयारी अवस्थामा राखेको ६ बोरा  गाँजा बरामद गरिएको थियो । त्यसबेला प्रहरीले गाँजासहित धनकुटा जिल्ला सहिदभूमि गाउँपालिका–४ बस्ने वर्ष ३६ का हेमप्रसाद राई, सहिदभूमि गाउँपालिका–२ बस्ने ३६ वर्षीय हिक्मत राई र सोही स्थानका ३५ वर्षीय आशिष राई पक्राउ परेका थिए ।

पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाई छिपाई ल्याएर भारत पुर्याउने धन्दामा उनी संलग्न रहेको पाइएको छ । शृृङ्खलाबद्ध रूपमा सुनसरी र मोरङको भारतसँग सीमा जोडिएको नाकाबाट तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको घटनाले पनि यी दुई जिल्लाहरू गाँजा तस्करीको ‘ट्रान्जिट पोइन्ट’ बनेका छन् ।

धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लामा उत्पादन हुने गाँजा पछिल्लो समय गाडीमा लोड गरेर तस्करी गराउने गिरोह सक्रिय छन् । खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबारले मोरङ र सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसँगको खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न प्रहरीलाई चुनौती थपिएको हो ।

पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुने गरेको छ । बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार पुग्छ भने भारत पुग्दा ४० देखि ५० हजार भन्दा बढीमा कारोबार हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।