विजयपुर । धरान खानेपानी व्यवस्थापन बोर्डको आय–व्यय सार्वजनिक गरिएको छ ।

शुक्रबार बोर्डका अध्यक्ष हर्कराज राईले बोर्डको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी गत आर्थिक वर्षको आय–व्यय सार्वजनिक गरेका हुन् ।

बोर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा बोर्डमा अघिल्लो वर्षको नगद मौज्दातसहित १५ करोड ४ लाख ५६ हजार ६ सय २२ रुपैयाँ आय भएको छ । खर्चतर्फ १२ करोड ४७ लाख २३ हजार ८ सय ८४ रुपैयाँ भएको छ । बोर्डले हाल दुईवटा खातामा रकम जम्मा गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कमा ३४ लाख ३४ हजार ८ सय ५१ रुपैयाँ रहेको छ भने माछापुच्छे« बैङ्कमा २ करोड २२ लाख ९७ हजार ८ सय ८६ रुपैयाँ नगद मौज्दात रहेको छ ।

बोर्डका अध्यक्ष हर्कराज राईले एडिबीबाट लिएको ऋण अझै ५४ करोड रुपैयाँ बाँकी रहेको बताए । बोर्डले वार्षिक ६ करोड रुपैयाँ ऋण भुक्तानी गर्दै आएको छ । प्रमुख राईले ऋण चुक्ता गरिसकेपछि खानेपानीको महसुल समायोजन गर्ने बताए ।

तर, ६ करोड रुपैयाँका दरले ऋण तिर्दा ९ वर्ष लाग्ने देखिन्छ । राईले एडिबीलाई ऋण मिनाहा गर्न अनुरोध गर्ने बताए । उनले भने, ‘खर्च कटौती गर्न लागिपरेको छु । अनावश्यक कर्मचारी कटौती र विद्युत् खर्चमा कटौती गर्नुपर्छ ।’