देउराली ।  धरान उपमहानगरपालिका ५ नम्बर वडा स्थित देउराली खानेपानी तथा सरसफाइ समितिको नयाँ समिति चयन प्रक्रियामा विवाद उत्पन्न भएको छ । 

शनिवार देउराली स्थित आफ्नै भवन परिसरमा भएको समितिको छैटौँ अधिवेशन तथा १० औ साधारण सभामा नयाँ कार्यसमिति चयन प्रक्रियामा विवाद उत्पन्न भएको हो ।  

साधारण सभामा आर्थिक विवरण प्रस्तुत गरिसकेपछि नयाँ कार्यसमिति चयनका लागी सहजीकरण समिति बनाइएको थियो ।  समितिमा हिमाली माविका प्रधानाध्यापक एम कुमार खत्री,  मणि कुमार नेपाली र रमेश मगर रहेका थिए ।  

सहजीकरण समितिले उमेदवाहरुको उमेदवारी सङ्कलन गरी छलफलको माध्यमबाट सर्वसम्मतमा समिति निर्माण गर्ने, त्यसो नभएमा चुनावमा जाने भनिएको थियो । सोही अनुरूप अध्यक्षमा निवर्तमान अध्यक्ष मोहन केशर कार्की, स्वर्णिमहाङ फम्बो, सुनिला राई र पूर्व वडाध्यक्ष सन्तोष लिम्बूका दाजु जिवन (लक्ष्मी) लिम्बू गरी चार जनाको उमेदवारी रहेको थियो । 

तर छलफल र निर्वाचन नभएर एक पक्षीय ढङ्गले सहजीकरण समिति प्रस्तुत भएको भन्दै विवाद उत्पन्न भएको हो । 

समितिले तालीको भरमा अर्को पक्षलाई निस्तेज गर्ने गरी अध्यक्षमा लक्ष्मी लिम्बू र उसको टिमलाई विजयी घोषण गर्न लागेको भन्दै अध्यक्ष उमेदवार सुनिला राई, सचिवका उमेदवार कवि याक्खालगायत उनीहरू समर्थितहरुले विरोध गरेपछि विवादले चर्को रूप लिएको थियो । विवादमा लक्ष्मी पक्षधर र अर्का उमेदवार पक्षधर बिच घम्साघम्सीको स्थिति बनेको थियो । 

 समितिकी उपभोक्ता  शोभा राईले भनिन्  ‘ बहुसङ्ख्यक उपभोक्ताको हुर्मत लिने गरी केहीलाई अगाडी राखेर ताली बजाउन लगाएर समिति चुन्ने प्रयास गरियो हामी त्यो मान्दै नै ।’

ताली बजाउनेहरू समितिको सदस्य हुन् वा होइनन् भन्ने मै शङ्का व्यक्त गर्दै उनले भनिन् ‘हामी उपभोक्ताको मतदान अधिकारलाई पूर्ण रूपमा बेवास्ता गर्ने अनि ती ताली बजाउनेहरू सबै उपभोक्ता हुन् भन्ने के प्रमाण छ ?’ उनले सहजीकरण समिति एक पक्षीय भएको आरोप लगाइन् । 

कार्यक्रम सुरु हुनु पूर्व सहमति गरेरै निर्वाचन समिति निर्माण गरिएको बताएका कार्यक्रम सञ्चालक तथा अध्यक्षका उमेदवार स्वर्णिमहाङ फम्बोले अर्का अध्यक्षका उमेदवार लक्ष्मीले निर्वाचन नगर्ने भन्दै सहजीकरण समितिको बनाउन भनेपछि सहजीकरण समिति बनाइएको बताए । उनले भने ‘ हिजो (शुक्रबार)नै मैले समिति विगठन भएपछि निर्वाचन कमिटी बनाउनु पर्छ, छलफलमा सहमति भएन भने निर्वाचन प्रक्रियामा जानुपर्छ भनेको हो । कार्यक्रम मैले नै सञ्चालन गर्ने भएकोले समितिका साथीहरूले ५ जनाको नाम दिए र प्रिन्ट पनि गरियो तर बिहान लक्ष्मी लगायत भएर निर्वाचन गर्नु हुँदैन भन्दै नाम काट्न लगाएर ३ जनाको नाम ल्याएर सहजीकरण समिति बनाइयो । ’

 समितिले अध्यक्षका उमेदवारहरुलाई मात्र छलफल गराएकोमा छलफलका क्रममा निवर्तमान अध्यक्ष मोहनकेशरले उमेदवारी फिर्ता लिएका थिए ।  ध्वनि मतको प्रस्ताव गरेका फम्बोले समितिले तालीका आधारमा अध्यक्ष घोषण गरेका लक्ष्मी उपभोक्ताको निर्णय अनुसार अध्यक्ष भएको बताए । 

अध्यक्षकी उमेदवार सुनीलाले महिला भएकै कारण उपेक्षाकृत ढङ्गले बोल्न समेत नदिएको बताइन् । उनले भनिन् ‘ म उमेदवार थिए हामी निर्वाचन हुनुपर्छ भनिरहेका थियौ । मैले सहजीकरण समितिलाई बोल्न दिनुहोस् भनेर भनिरहे तर मलाई बोल्न नै दिइएन ।’  

समितिको सदस्यमा उमेदवारी दिएका भूपाल खजुमले भने ‘ हामीसँग कुनै छलफल भएन, इभन कार्यसमितिका उमेदवारहरूसंग पनि भएन । अध्यक्षमा उमेदवारी दिएका ४ जनालाई छलफल गर्न भनियो तर समय ५ मिनेट दिइएको थियो ।’ उनले थपे ‘५ मिनेटमा के छलफल हुन्छ ? कुनै पनि छलफल नगराई उमेदवारले उमेदवारी फिर्ता नलिई अध्यक्ष घोषण गरियो ।’

समितिले अध्यक्ष घोषण गर्नु पूर्व नै लोकतान्त्रिक प्रक्रिया अनुरूप चुनाव हुनु पर्ने माग गर्दै लक्ष्मी इतर समूह बहिस्कार गर्दै सभाबाट बाहिरिएको थियो ।

बल चिच्याई पूर्ण कार्य भएको भन्दै केही उमेदवारहरु भने कानुनी प्रक्रियामा जानलाई वकिल तथा उपभोक्ताहरूसँग सल्लाह गर्न लागेको बताएका छन् । उमेदवारहरू र आधा उपभाेक्ता बाहिरिए पनि समितिले बन्दसत्रलाइ निरन्तरता दिएकाे थियाे । 

समितिले ध्वनि मत मार्फत अध्यक्षमा जिवन लिम्बू, उपाध्यक्षमा दलबहादुर लिम्बु र सचिवमा मिषेक लिम्बू, कोषाध्यक्षमा सरिता लिम्बू, सदस्यहरूमा भरूण राई, राजमाया लिम्बू, मनिराजा राई, तुम्भ बहादुर लोहार, विशाल लिम्बू, जापानी राई, मणि नेपालीलाई बिजयी भएको  घाेषाणा गरेकाे एम कुमार खत्रीले बताए । उनले आफूहरू निर्वाचन समिति नभएर सहजिकरण समिति भएको र सहजिकरणको भुमिका निर्वाह गरेको बताए ।