इनरुवा । सहकारी संस्थाका सञ्चालक ४० लाखभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ता सडकका उत्रिएका छन् ।

४ वर्ष बित्दासमेत आफूहरूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । बचत रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएपछि अन्तिम विकल्पका रूपमा सडक आन्दोलन रोजेको पीडितहरू बताउँछन् ।

आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रदर्शनसमेत गरे । उनीहरूले भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक ३ सयभन्दा बढी बचतकर्ताको रकम कुम्ल्याएर भागेको आरोप लगाएका छन् ।

बन्द रहेको कार्यालय अघिल्तिर पासबुकसहित भेला भएका बचतकर्ताले आफूहरूले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए थप आन्दोलन चर्काउने बताए । उनीहरूले आफूहरूको मुद्दा लामो समय बित्दासमेत सुनुवाइ नभएकाले सङ्घर्षमा उत्रन बाध्य हुनुपरेको बताएका छन् ।

यता सहकारी संस्थाका एजेन्टका रूपमा रहेका बचत सङ्कलनकर्ता सूर्यनारायण साहुले आफूले स्थानीयबाट बचत सङ्कलन गरी रकम जम्मा गराए पनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तिएको बताए । आफू बारम्बार बचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले वास्ता नगरेको उनले बताए ।

साहुले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम सङ्कलन गरी जम्मा नै नगरेको भनी आरोप लगाउन थालेको बताए । यता सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट सङ्कलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ ।

सञ्चालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा बचतकर्तासँग मतभेदको अवस्था सिर्जना हुन पुग्दा अवस्था असहज बन्न पुगेको बताए । उनले अडिट रिपोर्ट प्राप्त हुनासाथ बचतकर्ताको रकम फिर्ता दिइने बताए ।