बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०७८/०७९ मा ११ करोड रुपैंयाँभन्दा बढी जरिवाना संकलन गरेको छ । प्रहरीले गतबर्षको साउन १ गतेदेखि यसबर्षको असार मसान्तसम्ममा अवैध सामग्री पक्राउ, नदीजन्य पदार्थ उत्खनन् र अवैध काठ तस्करीबाट जरिवाना संकलन गरेको हो ।

यस अवधिमा प्रहरीले अवैध सामग्री नियन्त्रण तथा भन्सार दाखिला गरेर मात्र ५ करोड ८५ लाख २५ हजार ४३ रुपैंयाँ संकलन गरेको छ । खुल्ला सिमानाका कारण हुने अवैध ओसार–पसार नियन्त्रण गरेर प्रहरीले सो परिमाणको राजश्व जम्मा गरेको हो ।

यस्तै अवैध काठ तस्करी नियन्त्रणबाट ४० लाख ५७ हजार ५३६ रुपैंयाँ राजश्व संकलन गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनले यस अवधिमा काठ तस्करीमा प्रयोग भएको १३ वटा सवारी साधन र १२ जना मानिसलाई पक्राउ गरी मुद्दा चलाइएको बताए ।

झापामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र तस्करी नियन्त्रण गर्दा ७ लाख ३७ हजार ५०० रुपैंयाँ जरिवाना संकलन भएको छ । यस कार्यमा संलग्न ५ जना मानिस र ७० वटा सवारी साधनलाई पक्राउ गरी कारवाही गरिएको पाठकले जानकारी दिए ।

जिल्लाा प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्यांक हेर्दा लागु औषध प्रयोगकर्ताको अवस्था बिकराल रहेको छ । एक बर्षको अवधिमा प्रहरीले ३०७ जना लागु औषध कारोबार र प्रयोगकर्ता पक्राउ गरेको जनाएको छ । यस बर्ष ब्राउन सुगर मात्र १ दशमलब ४१ किलोग्राम बरामद गरेको जनाएको छ । यस्तै डाइजापाम, लुपिजेसिक, फेनारगन, गाँजा, अफिम लगायतका लागु औषध प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरीले कर्तब्य ज्यान मुद्दाका १६ जना, ज्यान मार्ने उद्योगका २७, जबरजस्ती करणी ९७, जबरजस्ती करणी उद्योग २५, हात हतियार तथा खरखजानामा ४, सवारी ज्यान, बहुबिवाह, ठगीसमेत गरेर १ हजार २७४ जनालाई पक्राउ गरेको छ भने फरार रहेका ३२४ जनालाई खोजतलासको सुचिमा राखेको छ । जवरजस्ती करणीमा संलग्न ३१ जना यसबर्ष फरारको सुचिमा परेका छन् ।

यस्तै सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र जिल्ला अदालत झापाको फैसला कार्यान्वयन बिषेश अभियान अन्तर्गतपरार रहेका २२४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट १ करोड ६८ लाख ५२ हजार ४८० रुपैंयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका २२४ जनालाई १६२ बर्ष ७ महिना १९ दिन जेल सजाय भुक्तान गर्न कारागार पठाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीको साढे ३ करोड

यस आर्थिक बर्षमा ट्राफिक प्रहरीले झण्डै साढे ३ करोड राजश्व संकलन गरेको छ । झापामा सञ्चालन हुने सवारी साधनमाथि कारवाही गरी ट्राफिक प्रहरीले ३ करोड ३८ लाख २९ हजार रुपैंयाँ जरिवाना संकलन गरेको हो ।

ट्राफिक प्रहरीले ४७ हजा ९०० वटा सवारी साधनलाई कारवाही गरी राजश्व संकलन गरेको बताएको छ । ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरेर सवारी सञ्चालनलगायतबाट ट्राफिक प्रहरीले जरिवाना संकलन गरी राजश्वको रुपमा जम्मा गर्ने गर्दछ ।