विराटनगर । बिरामीलाई अत्यावश्यक पर्ने औषधिको अनुचित प्रयोग गरी कमाउधन्दामा लागेका गिरोहले यसको चरम् दुरुपयोग गर्ने गरेको पाइएको छ । 

औषधिको चरम् दुरुपयोग गर्दै लागूऔषध बनाएर प्रदेश १ का पूर्वी सहरमा बिक्री वितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको पाइएको हो ।

बिरामीले सेवन गर्ने औषधिको दुरुपयोग गरी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी चाँडै कमाउने धन्दामा लागेका यस्ता गिरोह झापा, मोरङ, सुनसरी र उदयपुरमा अधिक रहेका छन् । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधिलाई मिश्रण गरी लागूऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधि बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गर्नुपर्ने औषधि रहेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए । तर, यहाँ यी औषधिको चरम् दुरुपयोग बढेको उनले बताए ।

एक साताअघि मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेबाट औषधिको अनुचित प्रयोग गरेको पाइएपछि रविन पुरी,  रक्की धिमाल, सुमित राई र उज्वल थापा पक्राउ परेका छन् । उनीहरूलाई औषधिको अनुचित प्रयोग गराउन लगाउने मुख्य नाइके फरार छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ । यसअघि इटहरी–१ बाट पनि औषधिको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई औषधि व्यवस्था विभागले म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । पक्राउ पर्नेमा रविहाङ लिम्बू, दीपककुमार मण्डल, मनिष खड्का, जीवन देव र जनम राई रहेको औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले जानकारी दिए ।

केही दिनअगाडि धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागूऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–१५ बगरकोटका २४ वर्षीय अनाम राई पक्राउ परे । विभागले गरेको अनुसन्धानबाट राईले धरानको बगरकोटमा बसेर तीनवटा प्रतिबिन्धित औषधि डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको खुलेको थियो ।

क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरू औषधिसँग मिसाएर सेवन गर्दा लागूऔषधको काम गर्ने गरेको चिकित्सकले बताएका छन् । त्यही भएर अवैधरूपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

औषधि व्यवस्था विभाग विराटनगरले आर्थिक वर्ष २०७८÷०७९ मा औषधिको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाएर अभियोग मोरङ अदालतमा दर्ता गरेको सूचना अधिकारी खड्काले बताए । औषधि ऐन २०३५ अनुसार औषधिको अनुचित प्रयोग गरी बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

कडा कानूनी व्यवस्था रहँदा पनि कमाउधन्दामा लागेका गिरोहले एकपछि अर्को गर्दै औषधिको अनुचित प्रयोग गर्न नछोडेको विभागले बताएको छ ।

‘प्रतिबन्धित औषधिहरू भारतबाट भित्र्याएपछि पूर्वी सरहमा भण्डारण गरी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ’ कार्यालय प्रमुख टेकेन्द्र मिश्रले भने, ‘अवैध रूपमा ल्याएको औषधिको चरम् दुरुपयोग गर्दै गिरोहले दुव्र्यसनमा लागेका युवाहरूलाई महँगो मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । उनीहरूले  डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन मिसाएर लागूऔषध बनाएर बिक्री गरेको पाइयो ।’ यसरी औषधिलाई लागूऔषध बनाएर बिक्री वितरण गर्नेमा औषधि पसल सञ्चालकहरू पनि रहेका छन् ।

प्रतिबन्धित औषधि ट्रामाडोल र स्पासपेन मिलाएर लागूऔषध बनाई ५ देखि ७ सय रूपैयाँसम्ममा बिक्री वितरण गर्ने गरेका छन्  । प्रतिबन्धित औषधिलाई लागूऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केराबारी, बेलबारी, उर्लाबारी, मधुमल्ला, पथरी, बेलबारीलगायतका सहरमा बिक्री वितरण गर्दै आएका छन् ।

पक्राउ परेका प्रतिवादीहरूले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधि भारतमा खरिद गरेर पूर्वी सहरहरूमा ल्याएर उक्त औषधि लागूऔषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्ममा बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् । ‘औषधिलाई लागूऔषध बनाएर पूर्वी सहरमा पु¥याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियामक निकायको ध्यान नजाने भएकोले प्रतिबन्धित औषधिको कारोबार गर्ने गिरोहले निकै चलाखी गरेको पाइएको छ’–अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधको रूपमा सेवन गर्दा शारीरिक र मानसिक रूपमा असर गर्नुको साथै स्मरण शक्तिमा ह्रास आउने औषधि व्यवस्था विभागले जनाएको छ ।

यसरी प्रतिबन्धित औषधिको दुरुपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्दै कमाउधन्दामा लागेका केही फार्मेसी सञ्चालकहरूले पनि बिक्री वितरण गर्ने गरेका थिए । केही फार्मेसी सञ्चालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्यसनीहरूलाई बेच्ने गरेको विभागले जनाएको छ । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । औषधि व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधिको चरम् दुरुपयोग गर्ने गरेको फेला पारेको छ ।

विभागले आर्थिक वर्षमा ६ सय ५७ वटा फार्मेसीहरूमा अनुगमनको क्रममा कैफियत भेटिएका ३२ वटा फार्मेसी निलम्बन गरेको छ । निलम्बनमा परेका फार्मेसीहरू दर्ता नभएका, औषधि पसलमा फर्मासिष्ट विना औषधि बिक्री वितरण गर्ने पसलहरू रहेको विभागले जनाएको छ । विभागले आर्थिक वर्षमा १ करोड १३ लाख ७३ हजार ८ सय ६५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।