विराटनगर । विराटनगरस्थित एक कलेजमा नर्सिङ अध्ययन गर्दै आएकी एकजना किशोरीलाई नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई कराँतेका प्रशिक्षकलाई पक्राउ गरेको छ ।

‘जबर्जस्ती करणी’ मुद्दामा विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राउत र सुवेदी मोरङ जिल्ला कराँतेका स्थायी सहायक प्रशिक्षक हुन् । उनीहरू २०५२ सालदेखि कराँतेको सहायक प्रशिक्षक भएर काम गर्दै आएका थिए ।

प्रहरीले मङ्गलबार मोरङ अदालतमा दोस्रो पटक म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनीहरूलाई साउन ८ गते प्रहरीले पक्राउ गरेको थियो । सोही दिन दुई दिनको म्याद थप गरेको थियो । म्याद थप गरेको समय सीमा सकिएपछि मङ्गलबार दोस्रो पटक दुई दिनको म्याद थप गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका आरोपीमध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामा गई जबर्जस्ती करणी गरेको आरोप छ । यसअघि नसालु पदार्थ खुवाएर बलात्कार गरेको दृश्य सामग्री (भिडियो) निर्माण गरी धम्की दिँदै सुवेदी र राउतले पटक–पटक बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

सुवेदी विराटनगरस्थित विराट हेल्थ कलेजमा अनुशासन (डिआई इन्चार्ज) रहेका थिए । उक्त कलेजमा डिआई इन्चार्ज भएर बसेको ७ वर्ष भएको थियो । एक वर्ष अगाडिदेखि ती किशोरी र सुवेदी परिचित थिए । कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए । सहयोग गरेको फाइदा उठाउँदै जेठमा सुवेदी किशोरीको कोठामा गएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सोही बेला किशोरी पानी लिन बाहिरिएको मौकामा सुवेदीले बियरमा नसालु औषधि हालेर पिलाइदिई करणी गरेको र दृश्य सामग्री खिचेको पाइएको छ । ‘त्यही दृश्य देखाएर सुवेदीसहित विनोद राउतले जेठतिर विराटनगरको एक होटलमा लगी जबर्जस्ती करणी गरे’ पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

सुवेदीले करणी गरेपछि दृश्य बनाएको धम्की दिने गरेका थिए । करणी गरेको हल्ला गरे दृश्य सार्वजनिक गरिदिने धम्की दिँदै सुवेदी र राउतले त्यसपछि पटक–पटक होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप छ । ती किशोरी सुनसरीको इटहरी घर भई हाल विराटनगरको नर्सिङ कलेजमा अध्ययनरत थिइन् । राउत र सुवेदीले पटक–पटक जबर्जस्ती करणी गरेको किशोरीले जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरी अहिले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । ‘किशोरीले दिएको जाहेरीको आधारमा अनुसन्धान सुरु भएको छ’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

सामूहिक करणीमा यस्तो छ सजाय
मुलुकी अपराध संहिता २०७४ फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनमा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख गरेको छ ।

करणीसम्बन्धी कसुरमा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमरेको महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था गरेको छ । सामूहिक करणीको हकमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था गरेको छ । पक्राउ परेका सुवेदी र राउतमाथिको कसुर पुष्टि भए उक्त सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको कानून व्यवसायीहरू बताउँछन् ।