भद्रपुर । केहि दिन अघि झापाको दक्षिणी क्षेत्र कचनकवलमा एउटै रुखमा तीन किशोरी एकैपटक झुण्डिएको घट्नाका विषयमा हालसम्म कुनै कारण पत्ता लाग्न सकेको छैन । घट्नाको कारण खोज्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआईटी), प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीको संयुक्त टोली आइतबारदेखि सो क्षेत्रमा खटिएको छ ।

 घटनास्थलको विषय वस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म ठोस प्रमाण भने फेला नपरेको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए । अलग–अलग परिवारका तीन जना किशोरी एकैपटक जीवन त्याग्नेबारे सहमति जुटाएको विषय आश्चर्य भएको उनको भनाइ छ ।

पोष्टमार्टम गर्ने चिकित्सकलाई सम्पर्क गर्दा आत्महत्या भएको जानकारी प्राप्त भएपनि कारण भने पत्ता  लगाउन प्रहरीले अनुसन्धान थालेको उनले बताए । धरानबाट पोस्टमार्टमको आधिकारिक रिपोर्ट भने नपाएको उनले जनाए । 

तीनै किशोरीका परिवार अत्यन्त गरिब समुदाय भएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराइले जानकारी दिए । परिवारलाई क्रिया गर्ने खर्च पनि अभाव देखिएकोले गाउँपालिकाले परिवारहरूको घरमै पुगेर एक–एक बोरा चामल, २/२ किलो दाल, नुन र तेल दिएको भट्टराईले बताए । 

शव पोस्टमार्टमका लागि धरान पठाएको तीनवटा गाडीको खर्च ब्यहोरेको र छिट्टै गाउँपालिकाले उचित नगद हस्तान्तरण गर्ने उनले जनाए । 

गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका गणेश थरका १६ वर्षीय करिना,१७ वर्षीय अञ्जली र १७ वर्षीय कल्पना कुमारी आइतबार बिहान साढे ७ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।