पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई सोमबार फरक फरक कार्यक्रम गरी सामग्री वितरण गरेको छ ।

प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत १८ वर्ष उमेरसम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री  वितरण गरिएको हो । जसमा, ९ जनालाई ह्विलचियर वितरण गरिएको छ ।

जम्मा १४ वटामा वडा नम्बर ५ र ६ मा बाँकी ५ वटा वितरण गर्न बाँकी रहेको छ । विद्यालय भर्ना अभियान अन्तर्गत अपाङ्गता भएका १४ जनालाई ब्याग र खेलौना र घरमा आधारित शिक्षाका लागि १० जनालालाई म्याट र गुडिया वितरण भएको छ । ४ जनालाई ट्वाइलेट चियर पनि वितरण गरिएको छ ।

 नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, करुणा फाउण्डेशनकी सीबीआर अफिसर थेरापिष्ट मिरियम पाठक सहितले सामग्री वितरण गरेका हुन् । 

 त्यस्तै, बाग्मती सेवा समाजसँगको सहकार्यमा नगरका २ वर्ष मुनीका २५ जना कुपोषित अवस्थाका बालबालिकालाई चामल, पोषक तत्वहरुको प्याकेज समाग्री उपलब्ध गराइएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बालबालिकाको चौतर्फी विकासका लागि सन्तुलित भोजन गराएर उनीहरुको नैसर्गिक अधिकार स्थापित गराउन अभिभावकहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

 कार्यक्रममा, सिनियर अहेब जगतप्रसाद मगरले गर्भमा बच्चा रहेदेखि जन्मिएको २ वर्षसम्म सुनौलो हजार दिनको अभियान सफल पार्न सो अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्ने सहितका उपयोगी जानकारी प्रस्तुत गरेका थिए ।