धनकुटा । प्रदेश नं. १ कै पहिलो पर्यटकीय गन्तव्य धनकुटाको हिले बजारमा रहेको ५२ वर्ष पुरानो बौद्ध गुम्बाको पुनः निर्माण गरिएको छ । वि.सं.०७२ सालमा वैशाख १२ गते आएको भुईँचालोको कारण जीर्ण नेको ऐतिहासिक महत्त्व बोकेको बौद्ध गुम्बा पुनः निर्माण गरिएको हो । 

संघिय सरकारको बजेट नीति तथा कार्यक्रम अनुसार आव०७८/०७९ मा भूकम्प पुनः निर्माण प्राधिकरणको सहयोगमा धनपा–१ हिलेमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्बाको पुनः निर्माण गरिएको निर्माण समितिका अध्यक्ष सीताराम तामाङले बताए । 

पुनः निर्माण प्राधिकरणबाट प्राप्त अनुदान र स्थानीय गुम्बा निर्माण उपभोक्ता समितिको जनश्रमदानबाट हिले बिच बजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्बाको पुनः निर्माण गरिएको धनपा–१ का निवर्तमान वडाध्यक्ष एवम् जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले ब्लाष्टलाई बताएका छन् । उनले संघिय सरकार अन्तर्गत आव०७७/०७८ मा भूकम्प पुनः निर्माण प्राधिकरणको गुम्बा निर्माणको लागि सहयोग प्राप्त भएपछि कोरोनाको कारण आ.व.०७८/०७९ मा थुप्तेन देक्षेन छ्योलिङ गुम्बाको पुनः निर्माण गरी सकिएको बताए । 

तामाङले पुनः निर्माण प्राधिकरणबाट ६८ लाख र २३ लाख जनश्रमदान गरी जम्मा ९१ लाख रुपैयाँ लगानी गरेर थुप्तेन देक्षेन छ्योलिङ गुम्बाको पुनः निर्माण गरिएको निवर्तमान वडाध्यक्ष एवं समन्वय प्रमुख तामाङले बताएका छन् । गुम्बा तिन तलाको निर्माण गरिएको छ भने गुम्बाको कुल क्षेत्रफल ८ सय स्क्वायर फुट रहेको छ । यस गुम्बामा विशेष गरेर बौद्धमार्गी समुदायका तामाङ, शेर्पा, गुरुङहरूले बुद्ध जयन्ती (सागधावा), ल्होछार (नयाँ वर्ष), भदौरे पूर्णिमा लगायत अन्य तिथिहरू र चाडपर्वहरूमा भेला भएर बुद्ध भगवान् प्रति शान्तिको कामना गर्दै मोलमपाठ गर्ने गर्दछन् । 

थुप्तेन देक्षेन छ्योलिङ गुम्बा वि.सं.२०२७ सालमा नेपालका वरिष्ठ र विश्वमा चर्चित आँखा विशेषज्ञ डा।सन्दुक रोईतका पिता समाजसेवी स्व।कारवारी लामा र थुप्तेन उक्याब लामाले स्थापना गरेका हुन । यो गुम्बा ०२७ साल देखी निर्माण सुरु भएर ०३१ सालमा मात्र पुरा भएर सञ्चालनमा आएको हालका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका निरेन तितुङ तामाङले बताएका छन् ।

उनले वि.सं.०५१ साल देखी कारवारी लामा र थुप्तेन उक्याव लामाको परिवारहरू काठमाडौँ वसाँई सरी गएपछि गुम्बा सञ्चालन, रेखदेख र संरक्षणको सम्पूर्ण जिम्मेवारी हिलेवासी बौद्ध धर्मावलम्बी तामाङ परिवारले लिएको बताए । हिले बजारको मुटुमा रहेको यस गुम्बालाई स्थानीयले बुद्ध निवास भनेर पनि चिन्ने गरेका छन् ।   

थुप्तेन देक्षेन छ्योलिङ गुम्बालाई बौद्ध धर्मशास्त्र र बौद्ध दर्शन अनुरुप वैधानिकता दिएर सञ्चालन गर्नका लागि लामा घेदुङ संघिय समितिका महासचिव मणि लामा मोक्तानसँग आवश्यक समन्वय भइरहेको म्हानिपा घेदुङ धनकुटाका उपाध्यक्ष पेमा लामाले बताइन । जीर्ण गुम्बा पुनः निर्माण भएपछि नयाँ साजसज्जाको साथ सञ्चालनमा आएको छ । गुम्बामा दैनिक पूजापाठ, तिथि अनुसारका बौद्ध धर्म दर्शन र शास्त्रमा आधारित भएर धार्मिक अनुष्ठानहरू (शान्तिपाठ) हुने गरेको छ ।