विजयपुर । वराह बचत तथा ऋण सहकारी संस्थालाई छानबिन गर्न आलटाल गरेको भन्दै वराह सहकारीका पीडितहरूले धरान उपमहानगरको कार्यालय घेराउ गरेका छन् ।

आइतबार वराह सहकारी पीडित सङ्घर्ष समितिले सहकारीको सम्पूर्ण चल–अचल सम्पत्ति रोक्का गर्न माग गर्दै घेराउ गरेको हो । बचतकर्ता र शेयरधनीहरूलाई न्याय दिलाउन माग राखि घेराउ गरेको वराह सहकारी पीडित सङ्घर्ष समितिका प्रवक्ता प्रदीप बस्नेतले बताए । उनका अनुसार सम्पूर्ण पीडितहरूको उपस्थितिमा घेराउ गरेका हुन् ।

गत आइतबार सहकारीको सम्पूर्ण नियमन गर्ने क्षेत्राधिकार उपमहानगरको भए पनि वराह सहकारीलाई छानबिन गरी कारबाही गर्न पन्छिँदै उपमहागरले पीडितहरूलाई केन्द्रीय सहकारी विभाग पठाएको थियो ।

पीडितहरू वराह सहकारीविरुद्ध निवेदन बोकेर केन्द्रीय सहकारी विभाग काठमाडौँ पनि पुगेका थिए । विभागले सहकारीको नियमनदेखि सम्पूर्ण कारबाही गर्ने अधिकार स्थानीय सरकारमा नै रहेको भन्दै फर्काएपछि पीडितहरू झन् पीडित बनेको प्रवक्ता बस्नेतले बताए । उनले भने, ‘क्षेत्राधिकार हुँदाहुँदै केन्द्र पठाउनाले वराह सहकारीलाई कारबाही गर्नदेखि पन्छिएको अनुभव भएको छ ।’ उनले सहकारीका सञ्चालकहरूले पीडित सङ्घर्ष समितिसँग गरेको सम्झौता उल्लङ्घन गरेकाले कानूनीरूपमा अघि बढेको बताए । सङ्घर्ष समिति र वराह सहकारीका सञ्चालकबीच जेठ १६ गते सम्झौतासमेत भएको थियो ।

सम्झौतामा १ हप्ताभित्र सहकारीले सम्पूर्ण ग्रुप अफ कम्पनीका सञ्चालक, कर्मचारीसमेतको नाममा रहेको चल–अचल सम्पत्तिका साथै विदेशमा रहेको सम्पत्तिको विवरण पेश गर्नुपर्ने थियो । बचतकर्ताको निक्षेप ९० दिनभित्रमा प्राथमिकताका आधारमा वितरण गर्नुपर्ने थियो ।

तर, सम्झौताअनुसार काम गर्नुपर्नेमा सञ्चालकहरूले निक्षेपकर्ताको रकम अनधिकृत रूपमा आफूखुसी खर्च गरी हिनामिना गरेकाले रोक्का गर्न विभागसम्म पुगेका थिए । त्यसपछि समितिले धरान उपमहानगरमा शुक्रबार निवेदन दिएका थिए । निवेदन दिए पनि उपमहानगरले वराह ग्रुप र वराह बचत तथा ऋण सहकरी संस्थाको छानबिन तथा सम्पत्ति रोक्का गर्ने प्रक्रिया सुरु नगरेपछि आइतबार पीडितहरू उपमहानगर घेराउ गर्न पुगेका थिए ।

उनीहरूले वराह ग्रुप अफ कम्पनीका सञ्चालकसहित सहकारीका सञ्चालक समिति, पूर्व सञ्चालक, उपसमिति व्यवस्थापक र कर्मचारीहरूको चलअचल सम्पत्ति र बैङ्क खाता रोक्का गरी शेयरधनी र बचतकर्तालाई दिलाउन माग गरी निवेदन दिएका छन् । निवेदन दिएसँगै उपमहानगर प्रमुख हर्कराज राईले न्याय दिलाउन कानूनअनुसार पहल गर्ने बताएका छन् ।

५ सदस्यीय छानबिन समिति
धरान उपमहानगरले वराह बचत तथा ऋण सहकारी संस्थाको छानबिन गर्न ५ सदस्यीय समिति बनाउने भएको छ ।

धरान उपमहानगरको आर्थिक विकास महाशाखाका प्रमुख वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति बनाउने प्रवक्ता बास्तोलाले जानकारी दिए ।

बस्नेतका अनुसार केन्द्रीय सहकारी विभागको अधिकृत तहको कर्मचारी १ जना, प्रदेश रजिष्टार कार्यालयको अधिकृत तहको कर्मचारी १ जनासहित धरान उपमहानगरका २ जना कर्मचारी हुनेछन् । आमन्त्रित सदस्यमा पीडित सङ्घर्ष समितिका ५ जना माग गरिएको छ ।

सहकारी पीडित सङ्घर्ष समितिले राष्ट्र बैङ्क, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट पनि छानबिन समितिका प्रतिनिधि पनि राख्न माग गरेको छ । उनका अनुसार समितिले आइतबारदेखि नै काम सुरु गर्ने सहमति भएको छ । उनले भने, ‘सम्बन्धित निकायमा सम्पत्ति रोक्का लागि पत्राचार गरिने भएको छ ।’