धरान । बीपी कोइरालाको ४० औं स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नं.१ ले विविध कार्यक्रम आयोजना गरेको छ ।
स्मृतिको अवसरमा वृक्षरोपण, विचार गोष्ठी र सम्मान कार्यक्रम गरिएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार धरान–१४ स्थित पिण्डेश्वर क्याम्पसपरिसरमा विभिन्न प्रजातिका दुईसय थान बिरुवा रोपिएको छ ।
त्यसैगरी बीपी स्मृति दिवसकै अवसरमा विचार गोष्ठी र स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका क्षेत्र नं. १ का पार्टीका विजयी उम्मेदवार तथा जनप्रतिनिधिहरूलाई खादा, अबिर र प्रशंसा–पत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका प्रदेश नं. १ का महामन्त्री उमेश थापा, जिल्ला सभापति एवम् इनरुवा नगर प्रमुख केदार भण्डारी, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेश १(२) का सभापति एवम् धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई, धरान उपमहानगर सभापति श्याम पोखरेल, नेपाल महिला सङ्घ सुनसरीका सभापति विजया कटवाललगायतले बीपीको राजनीतिक, सामाजिक, साहित्यक र शैक्षिक योगदान तथा उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको बारेमा विभिन्न विचार राख्नुका साथै गत स्थानीय निर्वाचन, आगामी निर्वाचन र पार्टीका नेता तथा कार्यकर्ताहरूको भूमिका र पार्टीको अबको नीति तथा कार्यक्रमका बारेमा समेत विचार राखेका थिए ।
त्यसैगरी शुक्रबार वीपी चिन्तन प्रतिष्ठान र थाउजेण्ड बुद्ध निर्माण समितिको संयुक्त आयोजनामा वृक्षरोपण तथा विचार गोष्ठी आयोजना गरिएको थियो ।