पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका किसानको लाखौं रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम–३ लालीखर्कमा कनका सुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताउने महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् ।

कृषक तथा व्यवसायीहरूलाई लाखौं रुपैयाँ भुक्तानी दिनुपर्नेमा उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् । सदरमुकाम फिदिम जाने भनी हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । व्यवसायी हमाल र उनकी श्रीमतीको मोबाइल स्वीचअफ गरिएको र उनीहरूको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले खोजी गर्न प्रहरीमा निवेदन दिएका छन् ।

हमालले फिदिम नगरपालिका वडा नं. २, ३, ५, ७, ८, १४, फाल्गुनन्द गाउँपालिका वडा नं. १, ३, ४ लगायत वडाका सयौं कृषकहरूको दूध सङ्कलन गरी घ्यू र छुर्पी उत्पादन गर्दै आएका थिए । उत्पादित दुग्ध सामग्री उनले फिदिमको सिदिन डेरी उद्योगमा बिक्री गर्थे ।

कृषकहरूबाट सङ्कलन गरेको दूधबाट उत्पादित सामग्री बिक्री गरी नगद ६५ लाख कृषकको रकम लिएर उनी फरार भएको सिदिन डेरी उद्योगका सञ्चालक गोपाल रिजालले बताए । उनीसहित अन्यले आफूहरू ठगिएको भन्दै प्रहरी उजुरी दिएका छन् । हमालले डेरी सञ्चालनका लागि रिजालबाट थप १६ लाख, अन्य व्यवसायी तथा कृषकहरूबाट समेत लाखौं रुपैयाँ लिएर हमाल फरार भएको निवेदकहरूले जनाएका छन् ।

व्यवसायी रिजाल, फिदिम–२ का कृषक तिवेन्द्र शर्मा अधिकारी र हमालले सञ्चालन गरेको डेरी उद्योगका कर्मचारी फिदिम–३ का सुरेन्द्र राईलगायतले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिएका हुन् । व्यवसायी हमाल फरार भएको भनी प्रहरीमा निवेदन परेको र खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी राकेश थापाले बताए ।

हमालले गत फागुन १४ गते फिदिम नगरपालिकामा डेरी उद्योग दर्ता गरी व्यवसाय सुरुवात गरेको पाइएको छ । उनले करदाता सेवा कार्यालय फिदिममा व्यवसायको स्थायी लेखा नम्बरसमेत लिएको पाइएको हो ।

कृषकहरूले उनको खोजी गरी आफूहरूको रकम फिर्ता गराइदिन माग गरेका छन् । फिदिममा व्यवसाय सुरुवात गरेको छोटो समय भए पनि स्थानीय डेरीमा बिक्री हुनेभन्दा प्रतिलिटर ५ रुपैयाँ बढी दिने आश्वासन दिई हमालले यस क्षेत्रमा उत्पादित दूध आफ्नो डेरीमा ल्याउन सफल भएका थिए ।