ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न  पूर्वाधारका काम  विस्तार  गरिदै लगिएको छ । 

हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । सो पदमार्गमा गत साता ९४ मिटर ट्रस लगाउने कार्य सम्पन्न भएको छ ।  सरकारबाट प्राप्त रु ३० लाख बजेटले समितिले सो ट्रस लगाएको हो । 

सो पदमार्गमा प्रत्येक वर्ष क्रमिकरुपमा मर्मत गर्ने, सोलिङ, रेलिङ र ट्रस लगाउँने कार्य हुँदै आएको छ । अहिलेसम्ममा मन्दिरदेखि करिब ६०० मिटर ट्रस लगाएको कार्यकारी निर्देश काफ्लेले बताए । उनले भने “यसपटक ट्रस  लगाउने काम ठूलो घण्टी भन्ने ठाउँसम्म विस्तार गरिएको छ । हिमपातको बेला अधिक चिप्लो हुने त्यस भन्दा तलको भागमा रेलिङ हालिएको छ ।” 

कार्यकारी निर्देशकका अनुसार बाटोमा सार्वजनिक धारा निर्माण गरिएको छ । छिट्टै पम्पिङ गरेर धारामा पानी झारिने छ । बाटोमा शौचालय थपिएको छ । पानीको आपूर्तिसँगै शौचालयको सफाइ सहज बन्ने छ । कान्छिथान नजिक शान्त स्थानमा ध्यान केन्द्रसमेत निर्माण  गरिएको छ । मन्दिरदेखि क्रमिकरुपमा साढे दुई किलोमिटर माथिल्लो फेदीसम्म ट्रस लगाउने समितिको लक्ष्य छ । 

कार्यकारी निर्देशक काफ्लेले समितिसँगको समन्वयमा उकालो बाटो सुधार गरी सहज बनाइएको बताए । “ग्रामीण बस्तीबाट पाथीभरा आउने पैदल मार्र्ग विकास गरिएको छ । पाथीभरामा एक उद्धार केन्द्र, चिया खाने ठाउँ, आराम स्थल र शौचालयको लागि प्रिफ्याब घर निर्माण थालिएको छ”, उनले भने ।