सुनसरी । सुनसरीका विभिन्न नाका हुँदै भारततर्फ गिट्टी, बालुवा तस्करी हुने गरेको पाइएको छ । दिउँसो टिपरमा विभिन्न स्थानबाट गिट्टी, बालुवा सीमावर्ती क्षेत्रमा भण्डारण गरी राख्ने र तस्करहरूले टिपर वा ट्याक्टरमा रातारात सीमा कटाउने गरेको प्रहरीले जनाएको छ ।

यसै क्रममा सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित सिसुवा धर्मपुरबाट प्रहरीले टिपरमा भारततर्फ गिट्टी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाएको छ ।

भारततर्फ तस्करी गराउने उद्देश्यले ल्याइएको गिट्टीसहित टिपर प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको सुनसरी प्रहरीले जनाएको छ ।

भारततर्फ गिट्टी बालुवा तस्करी भइरहेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले को १ ख ७२९९ र प्र १–०२००१ क ३६७७ नम्बरको टिपरसहित गिट्टी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएको टिपरको २५–२५ लाख र गिट्टीको २०–२० हजार गरी जम्मा ५० लाख ४० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको हो । भारतसँग सीमा जोडिएका वसन्तपुर, भुटाहा, घुस्की नाका हुँदै दैनिक १५ देखि २५ ट्याक्टर बालुवा, गिट्टी भारततर्फ तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

पटक पटक सचेत गराए पनि विभिन्न बहानामा तस्करहरूले बालुवा, गिट्टी तस्कर गराउँदै आएकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । घर बनाउने बहानामा व्यापारीहरूले विभिन्न स्थानबाट गिट्टी, बालुवा ल्याई दिउँसो भण्डारण गरेर रातको समय सीमा कटाउने गरिएको नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले बताए ।

नेपालबाट गिट्टी, बालुवा तस्करी गराउने तस्करहरूले भारतबाट अवैधानिक रूपमा सिमेन्ट, इलेक्ट्रोनिक सामानसहित ठूलो गाडीको पार्टपुर्जा ल्याउने गरेका छन् । नेपालबाट ट्याक्टरमा गिट्टी, बालुवा भारततर्फ तस्करी गराउने तस्करहरूले सोही ट्याक्टरमा भारतबाट दैनिक लाखौं मूल्य बराबरको लत्ताकपडा, इलेक्ट्रोनिक पार्टपुर्जा, खाद्यान्न सामग्री नेपालमा भिœयाउने गरेका छन् ।