काठमाडाै । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । सेन्टरका सबै कर्मचारी महिलामात्र छन् ।

महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीईआई) मिसन अनुरूप रहेको र यसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले पूर्णरूपमा महिला कर्मचारीहरूद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हर्षित भएको बताएका छन् ।

त्यसैगरी एनसेलको ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले यसअघि टेलिकम क्षेत्रको ग्राहक सेवामा धेरैजसो पुरुषहरूको सहभागिता रहने गरेको र तीन–चार वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएको बताएकी छन् । उनले भनिन्,‘ लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।’

महिला कर्मचारीहरूद्वारा सञ्चालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्ने कम्पनीले जनाएको छ ।