पथरी । संस्थाको ऋण नतिरेको भन्दै मोरङ कानेपोखरी –७, स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले ग्रामिण सुधार सामुदायिक वनको कार्यालयमा ताला लगाएका छन् । 
विहिबार संस्थाको पदाधिकारी र सदस्यहरु वडा नं. ७ कै आइतबारेमा रहेको ग्रामिण सुधार सामुदायिक वनको कार्यालयमा भेला भई ताला लगाउनुको कारण खुलाउँदै वनको अध्यक्ष नविन राईको कार्यकक्ष र प्रशासन फाँटमा ताला लगाएको हो । वनलाई ऋण दिएको रकम पटक पटक तागेता गर्दा नी वेवास्ता गरेपछि ताला लगाएको संस्थाका अध्यक्ष संञ्जिव खड्काले बताए । संस्थाका अध्यक्ष खड्काले ताला लगाएपछि दुवै ताला ७ नम्बर वडाका वडा अध्यक्ष मोहन प्रसाद अधिकारीलाई सुरक्षित राख्न हस्तान्तरण गरेका थिए ।
संस्थाको अध्यक्ष संञ्जिव खड्का, उपाध्यक्ष हरी कोइराला, सचिव काजिराम गौतम र कोषाध्यक्ष पुष्कर बजगाईँ, दौलत रिजाल लगाएका टिको नेतृत्वले ताला लगाएका हुन । वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा सदस्य जीवन लिम्बु, कानेपोखरी अस्थाई प्रहरी चौकीका असई, ग्रामिण सुधार सामुदायिक वन समूहका सचिव शान्ता माझी, कोषाध्यक्ष देवेन्द्र थापा, सदस्य कृष्ण थामी, कर्मचारी हिमप्रसाद तिम्सिना उपस्थित रहेका थिए । वनका अध्यक्ष नविन राई र उपाध्यक्ष विष्णुकुमार रोक्का भने उपस्थित थिएन ।
ग्रामिण सुधार सामुदायिक वनले २०७६ असार ३१ गते ६ महिना भाका राखेर १० लाख रुपैया ऋण लिएको थियो । अहिले सम्म त्यसको व्याज मात्र ५ लाख ७० हजार ३८४ रुपैया भएको छ । वनले ऋण लिए देखी अहिले सम्म १ पटक पनि व्याज तिरेको छैन ।
संस्थाले पटक पटक तागेता गर्दा र पत्र काट्दा पनि वन समितिले वेवास्ता गरेपछि समितिले असार २९ गते बुधबारको बैठकले ताला लगाउने अन्तिम निर्णय गरेको सचिव काजिराम गौतम बताउँछन् । संस्थामा अहिले १०३५जना सेयर सदस्य रहेका छन् ।
                    
        
                                        
                                                                                                
        































