देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जान लागेका छन् । 

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम जान लागेको हो । 

गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधामा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली जान लागेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बिहीबार जनकपुरधामस्थित सीताशरण होटलमा सो कार्यक्रम आयोजना हुने मन्त्री साहले बताए । सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ । 

बिहीबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने गृहमन्त्रीहरुको टोलीले दिउँसो जयनगर–कुर्था रेलमा यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आज बेलुका ६ बजेसम्म जनकपुरधाम पुग्ने सबै प्रदेशका गृहमन्त्रीसहितको टोली आज साँझ जनकपुरधामस्थित गङ्गासागर पोखरीमा नियमित हुँदै आएको महागङ्गा आरतीमा सहभागी हुने कार्यक्रम तय भएको छ । 

यस्तै टोलीले यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उहाँहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।