विराटनगर । मोरङका खोलाहरूमा प्राकृतिक स्रोत–साधनमाथि चरम् दोहन हुने गरेको पाइएको छ ।   मोरङका विभिन्न खोलाहरूमा नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टीको चरम् दोहन हुने गरेको पाइएको हो ।

विशेषगरी केराबारी गाउँपालिका–८ स्थित खदम, मुगु खोला, सुन्दरहरैंचा नगरपालिका–५ स्थित बूढीखोला र बेलबारी–२ स्थित लोहन्द्रा खोलामा अवैध रूपमा गिट्टी, बालुवाको उत्खनन् हुने गरेकोले उत्खनन्मा प्रयो गरिएका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्राकृतिक दोहनमा संलग्न भएको ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्राकृतिक स्रोत दोहनमा संलग्न भएको एउटा जेसिभीसहित ९ वटा सवारी साधन रहेको छ । प्रहरीले अशोक कटुवालले चलाएको को.१ ख ५८६२ नं. को टिपर, केराबारी गाउँपालिका–१० का २२ वर्षीय राज लिम्बूले चलाएको को. १ ख १४९१ नं. को  जेसिभी, सुनसरी खनारका ४२ वर्षीय जयराम उराउले चलाएको    को.१ ख ७२५१ नं. को टिपर, इटहरी–११ का ३२ वर्षीय अनिल चौधरीले चलाएको ना.८ ख ४२६७ को टिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी सुन्दरहरैंचा–१० का दिनेश उराउले चलाएको प्र.१–०२–००१ ख ९३८७ नं. को टिपर, काशीनाथ ऋषिदेवले चलाएको का.१ त ६८६४ नं. को ट्याक्टर, उज्वल पौडेलले चलाएको को.२ त ५५६४ नं. को ट्याक्टर र शम्भु मग्रातीले चलाएको प्र.१–०२–००३ त १४०१ नं. को ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन आवश्यक कारबाहीको लागि स्थानीय तहलाई बुझाएको छ । मोरङका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टीको चोरी–निकासी बढेर गएको पाइएको छ । त्यसैगरी पहाडी जिल्लाहरूमा पनि ढुङ्गा, गिट्टीका अतिरिक्त वनमा समेत चोरी–तस्करी बढेको पाइएको हो । तीन तहका सरकारबीच समन्वय नहुँदा अनुगमनलगायतका काम प्रभावकारी हुन सकेका छैनन् । जसले गर्दा करोडौंको राजस्वसमेत गुमेको छ ।