देउराली ।  सुनसरी उद्योग वाणिज्य सङ्घको असार २० गते हुन गइरहेको  निर्वाचनमा उम्मेदवारी दिएका विजय श्रेष्ठ समूहले आफ्नो समूहको  प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

शनिबार धरान १५ स्थित धरान किचनमा पत्रकार सम्मेलन गर्दै समूहले  ४१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । सङ्घलाई विशुद्ध उद्योगी व्यवसायी र व्यापारी छाता सङ्गठनको रूपमा स्थापित गरेर उद्योगी व्यवसायीहरूको  सुरक्षा र प्रवर्द्धन गर्ने उल्लेख गरिएको उक्त प्रतिबद्धता पत्रमा उद्योगी, व्यवसायीको नीतिगत तथा व्यवहारिक समस्याहरूको समस्याको समाधान गर्दै आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्ने बत्ताइएको छ । 

समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विजय श्रेष्ठ रहेका छन् भने, उद्योगतर्फका सदस्यहरूमा पीयूषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, विष्णु बराल, वाणिज्यतर्फका सदस्यहरूमा किसन मास्के, जयप्रकाश शर्मा, विवेक अग्रवाल, मनोजकुमार अग्रवाल तोदी, रविकुमार राई, राजेश श्रेष्ठ, शैलेशकुमार आचार्य, शशी शाह, वर्षा अग्रवाल श्रेष्ठ रहेका छन् । यस्तै, वस्तुगततर्फका सदस्यहरूमा नविनकुमार तामाङ, रामस्वरुप शर्मा रहेका छन् ।

उनको समूह जिताउन कार्यक्रममा सङ्घका पाँच  पूर्व अध्यक्षहरूले समर्थन रहेको बताएका थिए । 

अध्यक्षका उम्मेदवार श्रेष्ठले  धरान–६ पानबारीमा बन्न लागेको औद्योगिक ग्राम स्थापनाका लागि  पहल गर्ने,  धरान, सुनसरी र आसपास क्षेत्रको विगतको व्यापारिक शाखालाई पुनः स्थापना गर्ने र सुनसरीमा थप लगानी वृद्धि गर्न सहजीकरण गर्ने बताएका थिए । 

 पत्रकार सम्मेलनमा यस समूहमा कुनै एक दल अथवा गठबन्धन उम्मेदवार नभएको पूर्व अध्यक्ष सरोज श्रेष्ठले बताए ।