धरान । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ ।

शनिबार मात्र ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको हो ।

मन्त्रालयका अनुसार यसअघि ०.५ प्रतिशतमा झरेको सङ्क्र्रमणको दर अहिले बढेर ६ प्रतिशत पुगेको छ । भारतमा जस्तो सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा नबढे पनि क्रमिक रूपमा बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । त्यो सङ्ख्या बढेर शनिबार ४४ पुगेको छ । असार १ गते तीन हजार ९ सय ५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने असार १७ गते दुई हजार ८ सय १४ जनामा परीक्षण गर्दा ५० जनामा सङ्क्रमण देखिएको थियो ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका थिए । अहिले २ सय ९१ जना होम आइसोलेशन, ६ जना संस्थागत आइसोलेशन र तीनजना सघन उपचार कक्ष (आईसीयू) मा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारण नेपालमा पनि बढेको बताए । भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ । उनले सङ्क्रमण बढे पनि ग्राफमा ठूलो नदेखिएको बताउँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताएका छन् ।

उनले अहिले देखिएको सङ्क्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको बताएका छन् । यसको एक–दुई दिनमा रिपोर्ट आउने उनको भनाइ छ ।