विराटनगर । ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको आरोप लागेका मोरङ मिक्लाजुङ गाउँपालिका–४ का एक व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएपछि घटना बाहिरिएको हो । सोही ठाउँका ४४ वर्षीय छविराज चाम्लिङ फरार भएको प्रहरीले जनाएको छ । सुँगुरलाई चारो खोज्नका लागि घर नजिकैको जङ्गलमा गएको बेला पहिलोपटक बलात्कार गरेको ती बालिकाले प्रहरीमा बयान दिएकी छन् ।

त्यसपछि पटक–पटक ज्यान मार्ने धम्की दिँदै बलात्कार गर्ने गरेको ती बालिकाले बताइन् । ज्यान मार्ने धम्की दिएका कारण मौन बसेकी बालिका गर्भवती भएपछि बलात्कारको घटना खुलेको स्थानीयले बताए । बालिकाको चार महिनाको बच्चा रहेको पुष्टि भएपछि परिवारका सदस्यले छविराजविरुद्ध इलाका प्रहरी कार्यालय उजुरी दिएका छन् । जबर्जस्ती करणी मुद्दामा उजुरी दिएपश्चात् आरोपी फरार छन् । 

प्रहरीका अनुसार गत माघ १६ गते दिउँसो १ बजेतिर ती बालिका सुँगुरलाई चारो खोज्न घर नजिकैको जङ्गलमा पुगेकी थिइन् । चारो खोज्ने क्रममा पिसाब गर्न लागेका बेला उनलाई चाम्लिङले बलात्कार गरेको पीडित बालिकाले बयान दिएको प्रहरीले जनाएको छ । घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिएका कारण घटना बाहिर नआएको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घटनापछि नियमित स्कुल गइरहेकी बालिकाको स्वास्थ्यमा जेठ अन्तिम साता एक्कासि समस्या देखिएपछि बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएका थिए । ‘नानीको स्वास्थ्यमा समस्या देखिएपछि अभिभावकले स्वास्थ्य परीक्षण गराउनुभएछ’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसक्रममा नानी गर्भवती भएको पुष्टि भएको उहाँहरूले सुनाउनुभयो ।’

आफन्तका अनुसार ती बालिकाले एक साताअगाडि असह्य पीडा हुने गरी पेट दुख्यो भनेर सुनाएपछि घटना बाहिरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘पेट दुख्यो भनेर अभिभावकलाई भनेपछि उपचार गर्न अस्पताल लगेका थियौँ’ बालिकाका एक आफन्तले भने, ‘पिरियड पनि रोकिएको भनेपछि अस्पतालमा जाँच गराउँदा प्रेग्नेन्सी पोजिटिभ आएको छ ।’

सोधीखोजी गर्दा ज्यान मार्ने धम्की दिँदै चाम्लिङले बलात्कार गरेको बताएपछि कानूनी कारबाहीका लागि प्रहरीमा उजुरी दिएको उनको भनाइ छ । प्रहरीले पीडितको पुनः स्वास्थ्य परीक्षण गर्न एबिसी नेपाललाई जिम्मा लगाएको छ । उनको स्वास्थ्य परीक्षण भइरहेको र फरार अभियुक्तको खोजी पनि जारी रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।