सुनसरी । सशस्त्र प्रहरी बल बेस क्याम्प भारदहबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारी परिमाणमा गाँजा बरामद गरेको छ ।

अदुवा बोकेको मिनी ट्रकभित्र लुकाएर लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर किसमान तामाङको नेतृत्वको टोलीले मङ्गलबार मध्यराति गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार १ सय ७५ केजी गाँजा बरामद गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कङ्कालीनी नगरपालिका–१ स्थित कोसी ब्यारेजबाट को.१ ख २९९५ नम्बरको मिनी ट्रकबाट जाँचको क्रममा गाँजा बरामद गरिएको इन्स्पेक्टर तामाङले जानकारी दिए ।

७ पोका पारेको अवस्थामा १ सय ७५ केजी गाँजा र ३ सय ५० केजी अदुवा बरामद गरिएको उनले जानकारी दिए । पहाडी जिल्लाबाट गाँजा ल्याई भारततर्फ लाँदै गरेको अवस्थामा बरामद गरिएको हो ।