भोजपुुर । भोजपुुर नगरपालिका वडानम्बर ८ का वडावासी सडक मर्मतमा जुटेका छन् ।
वर्षाका कारण विद्यालय जाने बाटो हिलाम्मे भएपछि वडावासी सडक मर्मतमा जुटेका हुुन् । विद्यालयका साथै बजार प्रवेश गर्ने बाटो हिलाम्मे भएर हिँडडुल गर्न समस्या भएपछि वडाबासी आफै सडक मर्मतमा जुटेको वडाध्यक्ष नवीन प्रधानले बताए ।
वडाध्यक्ष प्रधानका अनुसार वडामा स्वयम् सेवकका रूपमा काम गर्नेको सङ्ख्यासमेत बढेको छ । वडाले स्वयम्सेवकका रूपमा काम गर्न इच्छुकलाई निवेदन दर्ता गरी सूचीकृत हुने व्यवस्था गरेपछि स्वयम्सेवकको सङ्ख्या बढेको हो ।
वडाध्यक्ष प्रधानले भने, ‘वडाबासी आफै स्वयम्सेवक भएर काम गर्दा वडाको विकासमा समेत टेवा पुुगेको छ, यो अभियानमा नागरिक आफै जुुटेको देख्दा खुसी लागेको छ ।’ यो अभियानले विकास निर्माणका काममा बजेटको मात्र मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्ने स्थानीय राजन राईको भनाइ छ ।
वडामा अहिले ८९ जना स्वयम्सेवक सूचीकृत भएका छन् । उनीहरूले गाउँघरका धारा, मठमन्दिर सरसफाइ गर्नेदेखि भत्किएका खाल्डाखुुल्डी सडक मर्मत गर्नेलगायतका काम गरिरहेको वडा कार्यालयले जनाएको छ ।