पथरी । धिमाल समुदायको महान पर्व जात्री/सिर्जात पर्व विधिवत रुपमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि समापन भएको छ ।

मोरङको लेटाङ नगरपालिकाको भोगटेनी स्थित राजारानीमा बैशाख २ बाट सुरु उर्लाबारी–३ मगलबारेको धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे) मा समापन भएको हो । जात्री÷सिर्जात पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनी स्थित राजारानीको धिमाल ग्रामथामबाट सुरु हुने गरेको छ ।

पर्व समापन विहिबार प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । मुख्यमन्त्री राईले धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै राज्यको विभेदकारी, नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुबिधाबाट बञ्चित भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने बताए ।

राईले आरक्षणको व्यवस्था पनि सबै जात जातीलाई अवसरको समान उपयोगका लागि गरिएको उल्लेख गरे । आगामी साउन भित्रमा प्रदेशको नामाकरण हुने राईले बताएका छन् । प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसक्ने बताउँदै उनले प्रदेश सभाले सके सहमतिमा नभए बहुमतका आधारमा भए पनि प्रदेशको नाम राखिने बताए । मुख्यमन्त्री राईले बहुमतका आधारमा राखिएको नाम सबैका लागि उपयुक्त नहुन सक्ने तर्क गरे । तर, अब नाम जुराउन प्रदेश सभाले ढिलो नगर्ने बतनए ।

समापन कार्यक्रममा धिमाल जातिको मौलिक नाचगान, ढोल प्रतियोगिता, धिमाल कलाकारहरुको कला र गाला प्रस्फुटन गर्न स्टेजमा मौका लगायतका अवसर दिईन्छ । दुई महिना भित्रमा धिमाल समुदाय बसोबास गर्ने एक सय भन्दा बढी गाउँहरूमा मेला जातिरी÷सिजात लाग्ने गर्दछ । ग्रामथानमा फलफुल, हाँस, परेवा, कुखुरा, सुँगुरलगायतको बली दिने प्रचलन छ ।

भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सामूहिक पूजा जात्री÷सिजात नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस्, अतिबृष्टि, अनाबृष्टि, खेतका बालिनानी सप्रियोस र जिवनमा सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी बेराङ, चौमाझी, बूढा ठाकुर लगायतको पूजा गर्ने गरिन्छ । नेपालको पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा आदिमकालदेखि बस्दै आएका छन् । धिमालहरू पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समेत देख्न सकिन्छ । धिमाललाई दमक नगरपालिकाको पहिलो नागरिकका रूपमा सबैभन्दा पहिले घोषणा गरेको हो । त्यस्तै, बेलबारी, उर्लाबारी, पथरीशनिश्चरेले पनि घोषणा गरेको छ ।

समापन कार्यक्रममा धिमाल जाति विकास केन्द्रले प्रत्ये वर्ष प्रदान गरिने युवा प्रतिभा पुरस्कार बडिबिल्डर ललित धिमाललाई प्रदान गरिएको थियो । विभिन्न धिमाल गाउँटोल समितिबाट सहभागी ढोल मध्ये प्रथम डुम्रेघाट, द्वितीय कालाबन्जार, त्रितिय जम्बुझार र सान्त्वना बाह्रघरे गाउँटोल समिति भएको थियोे ।

कार्यक्रमको बिशिष्ट अतिथिमा प्रदेश सांसद कुलप्रसाद साँवा र अतिथिहरुमा स्थानिय पार्टी नगर अध्यक्ष, विभिन्न संघसंस्था, स्थानिय र छिमेकी नगरगका जनप्रतिनिधिहरु रहेका थिए भने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।