भोजपुर । बहिरा आवासीय विद्यालय भोजपुरमा अमित श्रेष्ठले डेढ लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । भोजपुर घर भई अहिले अमेरिका बस्दै आएका श्रेष्ठले आफ्ना स्वर्गीय बाबु–आमाको नाममा एक लाख ५१ हजार एक सय रुपैयाँको ‘रत्नकुमार चन्द्रलक्ष्मी अक्षय कोष’ स्थापना गरेका हुनु ।
अक्षयकोषबाट दिइने छात्रवृत्तिबाट बालबालिकाको पढाइमा प्रोत्साहनका साथै मद्दत मिल्ने अक्षय कोषदाता श्रेष्ठको विश्वास छ । अक्षयकोषको व्याजबाट वार्षिक परीक्षामा उत्कृष्ट हुने चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम ओझाले बताए ।
अक्षयकोष स्थापना भए पछि विद्यालयका शिक्षक , विद्यार्थी र अभिभावक खुसी भएका छन् । भोजपुर नगरपालिका ९ मा रहेको विद्यालयमा २१ जना बालबालिका अध्ययनरत रहेका छन् । यो विद्यालय २०७५ सालमा स्थापना भएको हो ।
यसै बिच नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरले विद्यालयमा अध्ययनरत बालबालिकाको आँखा परीक्षण गरेको छ । बालबालिकाको आँखाको समस्या पहिचान गर्ने उद्देश्यले विद्यालयमै उनीहरूको आँखाको परीक्षण गरिएको केन्द्र प्रमुख विजय तामाङले बताए ।