विजयपुर । धरान उपमहानगरपालिकाका सर्दु र सेउती खोलाबाट अवैध रूपमा खोलाजन्य सामग्री उठाउने चारवटा ट्याक्टरलाई नियन्त्रण लिएको छ ।

बुधबार धरान–११ वनडाँडा नजिकबाट ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो भने धरान–१५ महादेवचोक नजिकबाट एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

धरान–११ बाट को.२ त १३६४ र को.१ त ४५४० नम्बर, को.२ त २९१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको उनले बताए । त्यस्तै धरान–१५ सेउती खोलाबाट को.२ त ३१५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार हालसम्म ट्याक्टर धनी खुल्न सकेको छैन । उनले पक्राउ गरी प्रतिवेदन तयार गरेर राजस्व कार्यालयलाई बुझाउने बताए ।

उनले भने, ‘हामी पुग्नासाथ ट्याक्टर चालक भागे । कसको हो भन्ने विषयमा जरिबाना तिर्न आउँदा मात्रै थाहा हुन्छ ।’  उनले ट्याक्टर आन्तरिक राजस्व कार्यालयमा बुझाउने बताए । उनले पक्राउ गरिएका ट्याक्टरलाई पहिलो पटकमा १० हजार रुपैयाँ जरिबाना गर्ने बताए ।

पहिले पनि पक्राउ परेकाको हकमा पटकैपिच्छे थप १० हजार जरिबाना गर्ने उनले बताए । उनले धरानका खोलाहरूमा कुनै पनि सवारी साधनलाई नदीजन्य पदार्थ उत्खनन् र ओसार–पसार गर्न प्रवेश निषेध गरिएको बताए । सरकारले वर्षाको समयमा खोला उत्खनन् हरेक वर्ष रोक्ने गरेको छ ।