धनकुटा । आदिवासी जनजातिहरूको मौलिक सांस्कृतिक पर्वहरूको दिगो विकास गरी पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले सोमबार बताएका छन् ।

किरात राई यायोक्खा साँगुरीगढी गाउँ कार्यसमिति धनकुटाको आयोजनामा भएको साकेला उँभौली समापनमा बोल्ने वक्ताहरूले सांस्कृतिक पर्वको विकास र प्रवद्र्धनमा जोड दिन आग्रह गरे ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले हरेक जातिका भाषा, संस्कार, संस्कृति बाँचे मात्र त्यो जातिको पहिचान स्थापित हुने बताए । उनले हरेक जातिको पहिचान युगयुगसम्म बचाएर राख्न स्थानीय सरकारले हरेक जातिको भाषा, संस्कार, संस्कृति र मौलिक पर्वहरूको संरक्षण गरी प्रवद्र्धन गर्नुपर्ने बताए ।

साँगुरीगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जितेन्द्र रुम्दालीले आदिवासी जनजातिहरूको भाषा, संस्कार, संस्कृति र मौलिक पर्वहरूको विकास र प्रवद्र्धनका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले साँगुरीगढी गाउँपालिकाभित्र छरिएर रहेका सबैखाले जाति जनजातिहरूका लागि समान ढङ्गले सहयोग गर्ने जनाए ।

किरात राई यायोक्खा साँगुरीगढी गाउँ कार्यसमितिका अध्यक्ष जगतबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साकेला नृत्य प्रदर्शनमा सक्रिय सहभागिता जनाउने कलाकार एवम् प्रशिक्षकलाई संस्थाले सम्मान–पत्र हस्तान्तरण गरेको थियो ।

यसैबीच साँगुरीगढी–१ लावरबोटेस्थित इन्द्रेणी पुलनजिकै हालै निर्माण गरिएको लेउती करिडोर साकेला केलाङ पार्कको उद्घाटन गरिएको छ । पार्कको बागेढुङ्गामा साकेला थान स्थापना गरिएको छ । त्यहाँ भेला भएका किरातीहरूले साकेला नृत्य प्रस्तुत गर्दै किराती माङ्पाहरूले किरात मुन्दुम अनुरूप साकेला थानमा पूजा आरधनासमेत गरेका थिए ।

sakela1