सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका ६ स्थित चक्रघट्टीमा शुक्रबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी समूहको आयोजनामा सो शिविर सम्पन्न भएको हो ।

महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी समूह र काठमाडौँ–चक्रघट्टी जागरण समाज काठमाडौँको संयुक्त आयोजना तथा नोवेल मेडिकल कलेज विराटनगर र सिविआर नेपाल विराटनगरको प्राविधिक सहयोगमा विद्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको पूर्व विद्यार्थी समूह महेन्द्र माविका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा ११ सयभन्दा बढी व्यक्ति लाभान्वित भएको पूर्व विद्यार्थी समूह महेन्द्र माविका सदस्य पर्शुराम दाहालले बताए ।

उक्त शिविरमा जनरल मेडिसिन, महिला तथा स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, नाक कान घाँटी, बालरोग, छाला तथा यौनरोग, रेडियोलोजी, भिडियो एक्सरे, इसिजी र रगत जाँच, अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण लगायतका सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख तथा छाला रोग विशेषज्ञ डाक्टर रविन्द्र बास्कोटा र नोवेल अस्पताल विराटनगरका गरी १५ जना विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरूले बिरामीहरूलाई जाँच गर्नुका साथै औषधि वितरण गरेका थिए । सोही अवसरमा सिविआर नेपाल विराटनगरले अशक्त एवम् अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चेयर, वैशाखी, लौरोसहितका कृत्रिम अङ्गहरू समेत वितरण गरेको थियो ।

सो शिविरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, महेन्द्र माविका पूर्व शिक्षक भुवनाथ दाहाल, लक्ष्मीनारायण डाँगी, जगन बजगाईं, विश्व स्वास्थ्य सङ्गठनको नेपाल प्रतिनिधि सुनिल पोखरेल, चक्रघट्टी काठमाडौँ जागरण समाजका भगवती पराजुलीलगायत पूर्व विद्यार्थी समूहमा आवद्ध २०२९ देखि २०७८ सम्म विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम चक्रघट्टी काठमाडौँ जागरण समाजका सदस्य अम्बिका अधिकारीले सञ्चालन गरेका थिए ।