भद्रपुर । झापा प्रशासनको निर्णयविपरीत भद्रपुर–८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा महेन्द्र शाहको शालिक पुनस्र्थापना समितिले पार्कभित्र सरसफाइ र शृङ्गार गर्ने विज्ञप्तिमार्फत् खुला अपील गरेपनि प्रहरीको अवरोधका कारण सफल हुन सकेन ।

पार्क सरसफाइ गर्ने भन्दै समितिले शनिबार सरसफाइका सामग्री लिएर गेट अगाडि आए पनि सुरक्षाकर्मीको अवरोधका कारण प्रवेश गर्न पाएनन् । वाक्लो रूपमा खटिएका नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी र समितिको समूहबीच करिब तीन घण्टा तनावग्रस्त भए पनि समितिको प्रवेश गर्ने योजना सफल हुन सकेन ।

आक्रोसित भीडले नगरपालिका मेयर मुर्दाबाद, प्रहरी दमन मुर्दावाद, पार्क सफा गर्न पाउनु पर्छ लगायतका नारावाजी गर्दै केहीबेर सडकसमेत अवरोध गरी सवारी रोकेका थिए । प्रहरीले अवरोध जारी राखेपछि केही महिला तथा पुरुषले पार्कको पर्खाल नाघेर जाने प्रयास गरे पनि सफल भएनन् ।

सरसफाइ र शालिक नराखेसम्म आन्दोलन जारी राखिने उनीहरूको भनाइ छ । सार्वजनिक स्थलमा कुनै स्वार्थ नराखी सरसफाइ गर्न पाउनु पर्ने शालिक पुनस्र्थापना समितिका संयोजक सञ्जीव मैनालीले बताए । विगत १६ वर्षदेखि कुनै स्थानीय सरकारले वास्ता नगर्दा जीर्ण बनेको, सरसफाइ र रङरोगन नपाएको महेन्द्र वाटिकालाई नयाँ जीवन दिएर, पूर्ववत् अवस्थामा फर्काउन झापाली युवाहरू स्वतःस्फूर्त रूपमा लागेकोमा भद्रपुर नगरपालिका र प्रशासनले धरपकड गरी सम्पदाको संरक्षण अभियानमा हस्तक्षेप गरेको समितिका सदस्य चरण प्रसाईंले आरोप लगाए । पार्क सरसफाइ र शालिक पुनस्र्थापना गरेरै छाडिने उनले बताए । दुई दिन गरिएको रङरोगनमा करिब डेढ लाख रुपैयाँ खर्च भइसकेको उनीहरूको भनाइ छ । समिति सचिव सन्तोष बिमली, कोषाध्यक्ष भीम भट्टराई लगायतले शालिक पुनस्र्थापना अडानबाट पछि नहटेको बताए ।

बल्झिएको विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय झापामा शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको अध्यक्षतामा शालिक पुनस्र्थापना समितिका पदाधिकारी, नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूसँग सोही विषयमा पुनः बैठक बसेको थियो । 

बैठकले महेन्द्र पार्कमा कुनै पनि गतिविधि गर्दा स्थानीय सरकार अर्थात् भद्रपुर नगरपालिकासँग सहकार्य गरी अघि बढ्ने विषयमा नै निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

raja-park-jhapa

दुई दिनअघि मात्र बुधबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको सर्वपक्षीय बैठकले भद्रपुर नगरपालिकासँग समन्वय नगरी महेन्द्र पार्कभित्र पूर्व राजा महेन्द्रको शालिक पुनस्र्थापना गर्न तत्काल रोक लगाएको थियो । बैठकले नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने, नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रुपमा संरचना निर्माण, रङरोकन, शालिक निर्माण, अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय समेत गरेको थियो ।

त्यसपछि पूर्व राजा महेन्द्र शालिक पुनस्र्थापना समितिले प्रेस विज्ञप्ति प्रकाशन गरी पार्कलाई पूर्ववत् अवस्थामा फर्काउन झापाली युवाहरू स्वतःस्फूर्त रूपमा लागेको जनाएको थियो । समितिले शनिबार अर्धकद शालिक पुनस्र्थापना गर्ने कार्यक्रम राखेको थियो । बिर्तामोडका जयनारायण ढुङ्गानाले त्यस कामका लागि सहयोग गर्ने निधो भएको थियो ।