धरान । चौध वर्षीया एक बालिका सातादिनदेखि सम्पर्कविहीन बनेपछि परिवार चिन्तित बनेका छन् । परिवारले ‘खोजी पाऊँ’ भन्दै हुलियासहितको निवेदन तीन स्थानका प्रहरी कार्यालयमा दिएका छन् । धरान–१९ को आवरहोम बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्दै आएकी रसिका लिम्बू मोरङको पथरीबाट बेपत्ता बनेकी हुन् ।
रसिका आमा अर्पनासँग धरान उपमहानगरपालिका–५ देउरालीमा बस्दै आएकी थिइन् । तर, २०७८ चैत ३० गते बुबा हस्तबहादुर साम्बा लिम्बूलाई भेट्न जाने भन्दै पथरी हिँडेकी थिइन् । पथरीमा काका, ठूलोबुबा बस्दै आएका छन् । हस्तबहादुर भने इलामको माङ्सेबुङ गाउँपालिका–३ लारुम्बामा बस्दै आएका छन् । हस्तबहादुर र अर्पना विगत १३ वर्षदेखि अलग–अलग बस्दै आएका थिए ।
अर्पना धरान बस्दै आएकी थिइन् भने हस्तबहादुर लारुम्बा बस्दै आएका छन् । हस्तबहादुर भने कान्छी पत्नीसँग बस्दै आएका छन् । पथरी आएको केही समयपश्चात् छोरी आफूसँग आएर तीन साता बसेको हस्तबहादुरले बताए । तीन साता बसेपछि छोरीलाई साथै लिएर पथरी झरी साइँला भाइको घरमा छोरी बसेको र आफूचाहिँ मोरङको मधुमल्लामा बस्दै आएकी पत्नीकहाँ गएको उनले बताए । ‘१३ गते मेरो जन्मदिन छ; साथीको पनि जन्मदिन छ; हामी एकै ठाउँमा जन्मदिन मनाउँछांै भनेकी थिई; मैले पनि नाइँ भनिनँ’ उनले भने, ‘जेठ १२ गतेको दिन हिँडिछ ।’ हिँडेको भोलिपल्ट अर्थात् जेठ १३ गते बिहानसम्म छोरीको फोन लागेको भए पनि त्यसपछि सम्पर्कविच्छेद भएको उनले बताए ।
सम्पर्कविच्छेद भएलगत्तै माङ्सेबुङ गाउँपालिका–३ मै रहेको प्रहरी चौकी लामीडाँडामा खोजी गरिदिन भन्दै निवेदन दिएको उनले बताए । यता पथरीमा बस्दै आएका ठूलोबुबा लोकसागर साम्बाले पनि जेठ १४ गते छोरी हराएपछि खोजीका लागि निवेदन दिएको बताए । ‘साइँला भाइको छोरीसँग (नाताले रसिकाको बहिनी) पथरी बजार गएछन्; पथरी बजार पुगेपछि ‘म धरान जान्छु, तँ (बहिनीलाई) घर जा’ भनिछे । पथरीको पश्चिम बस स्टेण्डबाट गाडी चढेको भन्ने मलाई खबर आयो’–उनले भने । दुई दिनसम्म पनि सम्पर्क नभएपछि इलाका प्रहरी कार्यालय पथरीमा निवेदन दिएको उनले बताए ।
यता छोरी हराएको रात नै बुबा हस्तबहादुरले आफूलाई फोन गरेर नानाभाती गाली गरेको रसिकाकी आमा अर्पनाले बताइन् । उनले पनि छोरी हराएकोमा खोजी पाऊँ भन्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएकी छन् । उनका अनुसार जेठ १२ गते दिउँसोतिर छोरी हराएपछि आफूलाई सोही दिन रातको ८–९ बजेतिर फोन गरेर छोरीलाई संस्कार सिकाउन सकिनस् भन्दै हस्तबहादुरले धम्कीपूर्ण भाषामा फोन गरेका थिए । त्यसपछि मात्रै आफूले छोरी हराएकोबारे थाहा पाएको उनले बताइन् । पथरी जाने भनेर आफन्तसँगै चैत ३० गते नै हिँडेकी छोरी बेपत्ता भएको खबर पाएपछि आफू छाँगाबाट खसेजस्तै भएको उनले बताइन् । पथरी गएपछि आफूलाई छोरीसँग सम्पर्क गर्न पनि नदिएको उनको आरोप छ । ‘छोरी गएपछि बाउचाहिँले मसँग कन्ट्याक्टविहीन गराइदिने, फोन गर्दा कहिले ट्वाइलेटमा छ भन्ने कहिले बाथरुममा छ भन्ने, अनि मैले के गर्नु ?’–उनले भनिन् ।
पतिबाट छोरीको बारेमा थाहा नपाएका कारण जेठाजु लोकसागरमार्फत् हालखबर सोधीखोजी गर्ने गरेको आमा अर्पनाले बताइन् । जेठ १२ गतेसम्म उनीहरूसँगै छोरी रहेको उनले बताइन् । तर, त्यही रात आफूलाई फोन गरेर धम्कीपूर्ण भाषामा गालीगलौज पनि गर्दै सोधेपछि मात्रै छोरी हराएको थाहा पाएको उनले बताइन् । अहिले परिवार नै रसिका सम्पर्कविहीन भएकोमा चिन्तित छन् । रसिका हराएको बिहीबार एक साता पुगेको छ । रसिकाका बुबा हस्तबहादुरले साइँला भाइको छोरीलाई ९ दिनपछि आउँछु भनेर भनेकोसम्म सुन्नमा आएकाले त्यति दिनसम्म पर्खने बताए । ‘भाइकी छोरीलाई ९ दिनभित्रमा आउँछु भनेर हिँडेको छ अरे, २१ गते बिहानसम्म पर्खौं; त्यसपछि पनि आएन भने चारैतिर खोजीमा लाग्छु’–उनले भने ।