विजयपुर । धरान उपमहानगरका प्रमुख हर्कराज राईले पूर्व नगर प्रमुखको नेतृत्वमा भएको सुकुम्बासी उठाउने निर्णय उल्टाउने बताएका छन् ।

बुधबार अव्यवस्थित सुकम्बासी संरक्षण समितिको ज्ञापन–पत्र बुझ्दै उनले पुरानो निर्णय सच्याएर बस्ती नउठाउने बताएका हुन् । उनले भने, ‘नागरिकको संरक्षण गर्नु राज्यको दायित्व हो । नयाँ बस्नेलाई नियन्त्रण गरिन्छ । पुरानालाई म रहुञ्जेल उठाउँदिन ।’ संरक्षण समितिका अध्यक्ष अम्बरबहादुर श्रेष्ठ र सचिव प्रवेश राईको नेतृत्वमा विभिन्न ११ बुँदे माग गर्दै ध्यानाकर्षण गराएका थिए ।

उनीहरूको मागलाई प्रमुख राईले विस्तारै पूरा गर्दै जाने पनि आश्वासन दिए । उनले नीति तथा कार्यक्रममा समेटेर समाधान गर्दै जाने बताए । २०७८ साल फागुन १५ गते तत्कालीन नगरप्रमुख तिलक राईको सक्रियतामा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादव, सुरक्षा संयन्त्रका प्रमुख, सर्वदलीय, सर्वपक्षीय बैठक बस्दै २०७२ सालदेखि यता बसोबास गरेको बस्ती उठाउने निर्णय गरेको थियो ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, एकीकृत समाजवादी, सङ्घीय लिम्बुवान मञ्चलगायत धरानमा अस्तित्वमा रहेका राजनीतिक दलहरूको सहमतिमा बस्ती उठाउने निर्णय गरिएको थियो । बस्तीवासीले बस्ती नउठाउन माग गर्दै उच्च अदालत विराटनगर मुद्दा हालेका थिए । उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।