सङ्खुवासभा । जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप फैलिएको छ ।

मकै बालीमा किराको प्रकोप देखापरेपछि कृषकहरू चिन्तित बनेका छन् । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, सभापोखरी गाउँपालिकालगायतका क्षेत्रमा फौजी किराको प्रकोप बढी रहेको कृषकहरूले बताए ।

सिलिचोङ–२ बाला क्षेत्रमा लगाइएको मकै उब्जनी नै नहुने गरी किरा लागेपछि सोही बारीमा पुनः मकै छरेको स्थानीय मनकुमारी कुलुङले बताइन् । मकैमा मात्र नभई आलुखेतीमा समेत उक्त किराले क्षति पुर्याउन थालेको उनको भनाइ छ ।

फौजी किराले हुर्कंदै गरेका मकैको गुभो र पात नष्ट गरेपछि बिरुवा मर्न थालेको उनले बताइन् । सभापोखरी–१ धुपुका फणिन्द्र मगरले किराको प्रकोप देखिएपछि कीटनाशक औषधि छर्न थालेको बताए । स्थानीय तहहरूले पनि विषादि  छर्ने तयारी गरिरहेका छन् ।