भद्रपुर । भारतको बाटो हुँदै कुवेत गएकी झापाकी एक महिला चौध वर्षदेखि सम्पर्कविहीन बनेकी छन् ।
झापाको भद्रपुर नगरपालिका–२ (साविक पृथ्वीनगर गाविस–५) की ३१ वर्षीया अम्विका गिरी सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सगरमाथा मावि पढ्दै गरेकी अम्विकालाई १६ वर्षकै उमेरमा छिमेकी तारादेवी लिम्बूले भारतको बाटो हुँदै कुवेत पु¥याएको ७३ वर्षीय आमा चन्द्रमाया गिरीले बताइन् ।
छिमेकी लिम्बूले अम्विकासहित गाउँघरकै अन्य महिलालाई पनि वैदेशिक रोजगारीका लागि लगेकी थिइन् । अम्विकाकी आमा गिरीले २०६४ सालमा गएकी छोरी हालसम्म सम्पर्कविहीन बनेको बताइन् । यहाँबाट पठाउने एजेन्ट तारादेवीको ५ वर्षअघि नै हत्या भइसकेकोले छोरीलाई खोज्न झन् समस्या भएको उनको भनाइ छ ।
घरमा आमाबुबाको कुरा नसुनेर गाउँघरका महिलाको लहलहैमा लागी अम्विका जबरजस्ती विदेश जान्छु भन्दै हिँडेको उनको भनाइ छ । घरबाट छोरीको पासपोर्ट मात्र बनाइदिएको उनको भनाइ छ । छोरीले दिल्ली पुगेर विदेश जान उमेर पुगेन भन्दै दिल्लीमै बसेर काम गरेर एजेन्टको पैसा तिर्छु भनेर फोनमार्फत् सुनाएको उनले बताइन् ।
त्यसको केही दिनपछि कुवेत पुगेर छोरीले एजेन्टले अपर्णा थापा नामको भिसामा कुवेत पठायो, यहाँ घरायसी काम गर्दैछु । यहाँ मलाई कुनै पनि समस्या छैन । ‘एक महिनापछि नै एजेन्टको ३० हजार रुपैयाँ तिरिदिन्छु भनी सुनाएको उनको भनाइ छ । छोरीले एजेन्टको ३० हजार पनि तिरिन्, ६ महिनासम्म सम्पर्कमा पनि थिइन्, कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इओढी नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो पनि पठाएको उनको भनाइ छ ।
त्यसपछि छोरी सम्पर्कविहीन भएको सुनाइन् । गाउँघरमा कोही नयाँ मान्छे झोला बोकेर आउँदा छोरी नै आई कि भन्ने मनमा आश पलाउने गरेको उनले सुनाइन् । छोरी जस्तो अवस्थामा भए पनि पत्ता लगाइदिन उनको माग छ ।
फेसबुकमा फोटो हाल्दा छोरी भेटिन्छ भनेर गाउँका मान्छेले सुनाएपछि मात्र उनले छोरीको खोजी सुरु गरेको बताइन् । उनले छोरी खोजिदिनू भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणिन्द्र दाहालको पहलमा छोरीको खोजी कार्य भइरहेको बताइएको छ ।