इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको विद्युत् लाइन काटिदिएको छ ।

वितरण केन्द्रले इनरुवाका तीन सेवा प्रदायक कम्पनी इनरुवा केवल, टेकमाइन्ड र आइजोनको विद्युत् लाइन काटेको हो । इनरुवा वितरण केन्द्रका प्रमुख अभिनभ झाले सरकारी निर्णय बेवास्ता गर्ने इन्टरनेट कम्पनीहरूको विद्युत् सप्लाई बन्द गरिएको बताए ।

ताकेता र पटक(पटकको सूचनाका बाबजुद विद्युत पोल प्रयोग गरे वापत तिर्नुपर्ने रकम नतिरेपछि त्यस्ता कम्पनीको हकमा विद्युत् सप्लाई बन्द गरिएको उनले बताए । प्रमुख झाले क्रमशः इनरुवाभित्र कार्यालय रही सेवा सञ्चालनमा रहेका अन्य इन्टरनेट कम्पनीको समेत विद्युत् लाइन बन्द गरिने बताए । झाले भने, ‘प्रक्रियामा आउन भनिएको छ । नियमसम्मत प्रक्रिया नटुङ्गिएसम्म बन्द गरिएको विद्युत् सुचारु हुने छैन ।’

प्रमुख झाका अनुसार इनरुवामा लाइन काटिएका इन्टरनेट कम्पनीहरूको साँझसम्म विद्युत् लाइन सुचारु भएको छैन । यता इनरुवा केवलले भने प्राधिकरणले लाइन काटेलगत्तै भाडा बापतको रकम बुझाएर विद्युत् सुचारु गरिएको जनाएको छ ।

इनरुवा केवलका सञ्चालक केशव वस्तीले लाइन काटिएको बारेमा जानकारी गराउँदै विद्युत् कटौती भएलगत्तै इनरुवा वितरण केन्द्र पुगेर पोल भाडा बापतको रकम बुझाइएको बताए । सुविसु र ब्रोडलिङ्क इन्टरनेट तथा इनरुवा केवल टिभी सञ्चालन गर्दै आएका वस्तीले दररेट र मूल्य समायोजनको दुविधाका कारण पोल भाडा बुझाउन कठिनाइ हुँदै आएको बताए ।

वस्तीले विद्युत् सेवा बन्द हुँदा इन्टरनेट तथा केवल टिभीका ग्राहकलाई समस्या नपुगोस् भन्ने उद्देश्यले रकम बुझाएर अवरुद्ध विद्युत् सुचारु गरिएको बताए । यता अन्य सेवा प्रदायक कम्पनीले समेत प्राधिकरणसँगको छलफल र रकम तिर्ने प्रक्रिया अघि बढाइएको जनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले पोल भाडा नबुझाउने इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकको हकमा देशभर लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ । सोही अनुसार सुनसरीको इनरुवासहित आफू मातहत रहेका स्थानमा प्राधिकरणले लाइन काट्न थालेको छ ।