धरान । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट (नारा) को केन्द्रीय सदस्यमा धरानका ¥याफ्टिङ व्यवसायी मदन ढकाल निर्विरोध निर्वाचित बनेका छन् ।
आज (बुधबार) हुन लागेको ३३ औं साधारणसभाको पूर्वसन्ध्यामै सदस्यमा तमोर रिभर एड्भेन्चर नामक संस्था सञ्चालन गर्दै आएका व्यवसायी ढकाल निर्विरोध निर्वाचित बनेका हुन् ।
अध्यक्ष र महासचिवबाहेक अन्य पदमा पनि निर्विरोध निर्वाचित भएको ढकालले फोनमार्फत् जानकारी दिए । काठमाडौँमा हुन गइरहेको नाराको साधारणसभामा अध्यक्ष पदका लागि मेघ आले र शिव अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । त्यस्तै महासचिव पदमा नारायण श्रेष्ठ र देवराज जैसीबीच प्रतिस्पर्धा हुन लागेको निर्विरोध निर्वाचित सदस्य ढकालले जानकारी दिए ।
कुल ९ सदस्यका लागि हुन लागेको चुनावी साधारणसभामा उपाध्यक्ष पदमा शिशीर खनाल, सचिवमा राजीव खड्का र कोषाध्यक्षमा इन्दु वाग्ले निर्विरोध निर्वाचित भए ।
त्यस्तै सदस्यमा ढकालसहित महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । बाँकी दुई सदस्य निर्वाचित समितिले मनोनित गर्ने विधानमा व्यवस्था रहेको ढकालले जानकारी दिए । प्रदेश १ बाट ढकालमात्रै सदस्यमा निर्वाचित भएका हुन् ।