सुनसरी । अल्पसङ्ख्यक मुसहर समुदायका २७ वर्षे युवाले वडाध्यक्ष निर्वाचित हुँदै इतिहास बनाउन सफल भएका छन् ।

कोसी गाउँपालिका–७ बाट वडाध्यक्ष पदमा लालदेव सदा विजयी बनेका छन् । उनले नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका थिए । सदासहित प्यानलै विजयी बनेको छ । अन्तिम मतपरिणाम अनुसार सदाले लोकप्रिय मत पाए । २ हजार ४ सय ९९ खसेको मतमध्ये ११ सय मत प्राप्त गर्दै प्रत्यासी नेपाली काङ्ग्रेसका रामचन्द्र महतो कोइरीलाई पराजित गरे । कोइरीले ४ सय ४२ मत मात्रै प्राप्त गरेका थिए । कोइरी निवर्तमान वडाध्यक्षसमेत हुन् ।

व्यवस्था फेरियो, अवस्था फेरिएन
सदा सामान्य परिवारका व्यक्ति हुन् । साविक हरिपुर गाविस वडानम्बर १ (हाल कोसी–७) भएको हो । स्कुल पढ्दादेखि नै समाजका गतिविधिबारे चासो राख्ने उनी पछिल्लो केही वर्षयता राजनीतिमा सक्रिय थिए । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा कक्षा १२ अध्ययन गरेका सदाले वडाध्यक्षमा निर्वाचित भएपछि भने, ‘म आफ्नो समुदायको उत्थानमा लाग्छु, मुसहर समुदाय पुस्तौंदेखि अधिकारको लडाइँमा छ ।’

आफ्नो समुदायको अधिकारका लागि लडाइँ लड्दै आएका सदा वडाध्यक्ष पदमा निर्वाचित भएपछि आफूलाई थप ऊर्जा मिलेको उनले बताए । ‘लोकतन्त्रमा विभेद हुँदैन, सबै जाति, वर्ग र समुदायले समान अधिकार पाउनेछन् भनेर भनिन्छ’ उनले भने, ‘तर, हाम्रो समुदायमा कुनै सुधार आएको छैन, हिजो जे थियौँ; आज पनि सोही अवस्थामा छौँ ।’

देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिएको उनले गुनासो पोखे । वडाध्यक्षमा निर्वाचित भएपछि उनले भने, ‘पुर्खाहरू आफ्नो हक अधिकारका लागि लडे, पुस्तौंदेखिको लडाइँ अझै सकिएको छैन, त्यो लडाइँ जित्ने मेरो अठोट छ ।’ नेपालमा २२ वटा जातिलाई दलित समुदायमा समावेश गरेको छ । जसमा ५ वटा पहाडी मूल र १७ वटा मधेसी मूलमा राखिएको छ । नागरिकता, बालविवाह, चरम् गरिबी, स्वास्थ्य र शिक्षामा पहुँच र सहभागिता नभएको नेपाल राष्ट्रिय मुसहर सङ्घका महासचिव रामस्वरूप सदा बताउँछन् । उनका अनुसार सरकारले दलित समुदायको उत्थान र विकासका लागि वार्षिक करोडौं रुपैयाँ खर्चिंदै आए पनि मुसहर समुदायले राज्यले दिएको सुविधा उपभोग गर्न पाएका छैनन् ।

नेपाल राष्ट्रिय मुसहर सङ्घका केन्द्रीय अध्यक्ष चण्डेश्वर सदा राज्य पक्षले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मुसहर, सदा, ऋषिदेव, माझी समुदायलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने गरेको आरोप लगाए । आज मुसहर समुदायका युवा वडाध्यक्षजस्तो पदमा निर्वाचित हुन सफल भएको सदाको भनाइ छ ।

कोसी गाउँपालिका अध्यक्ष पदमा पुनः निर्वाचित भएका ऐयुब अन्सारीले दलित समुदायको विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने घोषणा गरे । उनले भने, ‘हामी उहाँहरूको उत्थान गर्न हिजो पनि प्रतिबद्ध थियौं र आज पनि छौं, मुसहर समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क पढाइदिन्छौँ ।’