भद्रपुर । झापाको गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो ।

२०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाउँको गहते जङ्गलमा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि बालिकालाई बेहोस बनाएर उनी फरार भएका थिए ।

उनी उदयपुरबाट फरार भएर भारततर्फ भागेको र प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि उनले आवेदन दिएका थिए । छनौट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनी विरुद्ध उदयपुरमा अन्य मुद्दासमेत रहेको जानकारी उदयपुर प्रहरीले गराएपछि उतै पठाएको डिएसपी पाठकले बताए ।

उदयपुरमा अपराधमा संलग्न कमलप्रसादलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै उदयपुर जिल्ला अदालतले २०७७ साल मङ्सिर २३ गते ९ वर्ष जेल सजाय र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो । उनले अर्कै नागरिकता बनाएको आशङ्कामा पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।