पथरीशनिश्चरे । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुख, उपपमुख सहित बहुमत संख्यामा विजय हाँसिल गरेको मोरङको पथरी शनिश्चरेमा यो पटकको दोस्रो निर्वाचनमा पनि सोही विरासत कायम रहेको छ ।

 शुक्रबार अपरान्ह घोषणा भएको मत परिणाम अनुसार नगर प्रमुखमा एमालेका मोहनप्रसाद तुम्वापोले नेपाली कांग्रेसका नगेन्द्रबहादुर सुब्बालाई १ हजार ८ सय १० मत अन्तरले पराजित गरी आफुलाई विजयी वनाउन सफल भएका छन् । सुरुदेखि नै अग्रता लिइरहेका तुम्वापोले १२ हजार ९ सय ५६ र सुब्बाले ११ हजार १ सय ४६ मत प्राप्त गरेका छन् । तुम्वापो ०५४ मो स्थानीय निर्वाचनमा साविक पथरी गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

  उपप्रमुखमा एमालेकै देवीमाया काफ्लेले ३ सय ५७ मत अन्तरले कांग्रेसकी कविता पराजुलीलाई पराजित गर्दै दक्षिणी ग्रामिण भूभागस्थित साविक हसन्दह क्षेत्रको प्रतिनिधित्व समेत गरेर आफुलाई निर्वाचित गराउन सफल भएकी छन् । काफ्लेले ११ हजार ७ सय ४७ र पराजुलीले ११ हजार ३ सय ९० मत प्राप्त गरेकी थिइन् । पहिले पराजुलीको अग्रता रहेको भएपनि एकतिहाई मतपरिणामपछि क्रमशः मत अन्तर घटाउँदै काफ्लेले अग्रता लिएर कडा प्रतिष्पर्धामाझ आफुलाई विजयी बनाउन सफल भइन् ।

  वडामध्ये सवैभन्दा पछिल्लो मत परिणामबाट वडा नम्बर १० मा एमालेका जीवन खतिवडाले कडा प्रतिष्पर्धामाझ १ सय ४५ मतको अग्रताले माओवादी केन्द्रका रविन्द्रकुमार राईलाई पराजित गर्दै आफुलाई निर्वाचित गराएका छन् । सबै दलका वडाध्यक्षका उम्मेदवारमध्येका वजनदार उम्मेदवारका रुपमा चर्चामा रहेका खतिवडाले ९ सय ६७ र राईले ८ सय २२ मत ल्याएका थिए । महिला सदस्यमा एमालेकी मीना तामाङ, दलित महिला सदस्यमा यस अघि समेत सोही पदमा विजयी मनकुमारी विश्वकर्मा, खुला सदस्यमा दिलबहादुर कार्की र कांग्रेसका वीरबहादुर बस्नेत निर्वाचित भएका छन् ।

 अघिल्लो निर्वाचनमा वडा नम्बर १, २, ३, ७ र ९ मा एमालेले प्यानलै जितेको थियो । यो पटक ३ र ९ नम्बर गुमाउँदै कांग्रेसले त्यसबेला जितेको ८ र १० लाई एमालेले आफ्नो पार्न सफल भएको छ । कांग्रेसले ३, ९ मा नयाँ विरासत कायम गरेको छ भनें पहिले अध्यक्ष जितेको वडा नम्बर ५ र ६ मा यो पटक ५ मा अध्यक्ष बाहेक अन्य सदस्यहरु गुमाउन पुगेको छ ।

६ नम्बरमा भनें प्यानल सहित विरासत कायम राखेको छ । माओवादी केन्द्रको प्यानलै निर्वाचित ४ नम्बर वडामा यो पटक अध्यक्षमा कांग्रेस र अन्य सदस्यमा एमालेले विजय हाँसिल गर्दा माओवादीको नगरमा कुनै सदस्य जित्न नसकी नीलको अवस्था रहयो । एमालेको ३४ र कांग्रेसको १८ जना निर्वाचित भएका छन् ।

  वडा नम्बर १ मा भीमकुमार राई, २ मा नैना राई, ३ मा विजय लिम्बू, ४ मा लोकनाथ न्यौपाने, ५ मा यस अघिका वडा सदस्य चेतेन्द्र खडका, ६ मा कृष्णकुमार बस्नेत, ७ मा उद्धवराज बस्नेत, ८ मा नवीन कार्की, ९ मा वीरबहादुर राई र १० मा जीवन खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।  

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीपार्टीबीच चुनावी सहकार्य भएको थियो । जसमा माओवादीबाट नगर प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवारी दिइएकोमा प्रमुखका उम्मेदवार दिननाथ तिम्सिनाले ३ हजार २ सय ७६ र उपप्रमुखका उम्मेदवार विन्दा राईले ४ हजार १४ मत प्राप्त गरेका छन् ।

  नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्र कायम गरिएको थियो । पथरी बजार क्षेत्रका रुपमा रहेको वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कुल ५१ हजार ३ सय २४ मतदाता रहेका छन् । जसमध्ये ३३ हजार ९ सय ८० अर्थात ६६ दशमलव २९ प्रतिशतले मतदान गरेका छन् ।