धरान । प्रदेश १ का दुई जिल्लामा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–२ रामचोकनजिकै ट्रकको ठक्करबाट ४ नम्बर वडावासी ५१ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार रामचोकस्थित सडक दक्षिणपट्टि पार्किङ गरिएको प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक पछाडि सारेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बनेका काफ्लेलाई बिर्तासिटी अस्पताल पु¥याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ भित्री कच्ची सडक–खण्डमा देवाली पूजा गर्ने मानिस लिएर जाँदै गरेको अनटेस्ट लेखिएको ट्याक्टरबाट उछिट्टिएर झर्दा २८ वर्षीय नारद कट्वालको मृत्यु भएको छ ।

उछिट्टिएर गम्भीर घाइते बनेका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी ल्याउने क्रममा बाटो मै मृत्यु भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । प्रहरीले चालक झापा बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय दीपन राईलाई नियन्त्रणमा लिएको छ ।

विजयी जुलुसमा हिँडेको ट्याक्टर पल्टिँदा ६ घाइते
मोरङको सुनवर्षी नगरपालिका–६ स्थित सिटौला टोलमा नेकपा (एमाले)को विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते बनेका छन् ।

दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएकोे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । को.२ च १४३७ नम्बरको ट्याक्टर दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पनि घाइते बनेका छन् । घाइतेहरूमध्ये सुनवर्षीका २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय  राजकुमार सहनी गम्भीर घाइते बनेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा ट्याक्टर चालक टुनटुन राजवंशी, सुनवर्षीका ४५ वर्षीय राजकुमार सरदार, ३८ वर्षीय स्वेता सरदार, २७ वर्षीय जहानभरकुमार राजवंशी, ४० वर्षीय कुसहा राजवंशी, ३५ वर्षीय लक्ष्मी सरदार रहेका छन् । उनीहरूको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।