धरान । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित नेपालटार नजिकै कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गमा विराटनगरतर्फ आउँदै गरेको बा. २५ च ७८१९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा कारमा सवार मोरङ विराटनगर महानगरपालिका–५ का ३४ वर्षीय देवेन्द्र चापागाईंको मृत्यु भएको हो ।

चालकसहित अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी टोली र स्थानीयको सहयोगमा तत्काल उद्धार सबै घाइतेलाई अस्पताल पठाइएकोमा चापागाईंको मृत्यु भएको घोषणा चिकित्सकले गरेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोरङ विराटनगर–५ का ३१ वर्षीय चालक विशाल राय, कारमा सवार २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका छन् । चालकको टाउको र निधारमा चोट लागेको छ ।