धरान । वैशाख पहिलो साता काठमाडौंमा आयोजित ‘फिल्म साउथ एसिया–२०२२’ मा धरानको विमल स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ पनि प्रदर्शन भएको थियो । दर्शकहरूको मन छुने उर्मिमा धरानवासीलाई पुस्तक पढ्न प्रेरणा दिने पूर्णबहादुरको सङ्घर्षको कथा प्रस्तुत गरिएको छ ।

संस्कृतमा ‘उर्मि’ को अर्थ ‘दुःख’ अनि ‘लहर’ भन्ने हुन्छ । भूतपूर्व गोर्खा सैनिक पूर्णबहादुरको जीवनमा पनि यस्तै दुःखका लहरहरू धेरै आए । तर, उनले यस्ता दुःख र शोकलाई शक्तिमा बदले र सिर्जनात्मक कर्म गरे ।

भित्तामा लस्करै दराजभरि पुस्तकै पुस्तक । टेबलमा भर्खर प्रकाशित पत्रपत्रिका मिलाएर राखिएका छन् । त्यहीँ छेउको एउटा टेवलमा ८० वर्षीय पूर्णबहादुर गुरुङ केही लेखिरहेका हुन्छन् । उनको छेउमा हुन्छ चियाले भरिएको थर्मस र केही ग्लासहरू ।

कुनै मान्छे आउने बित्तिकै पूर्णबहादुर नमस्कार गर्दै चिया टक्र्याउँछन् । पढिदिने मान्छे आउँदा उनी निक्कै खुसी हुन्छन् । धरानको बुद्धचोकस्थित विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुरको दिनचर्या यिनै पुस्तक र पत्रपत्रिका सम्हाल्दै बित्छ । उनले यसरी अरूलाई पढ्न हौस्याउँदै पुस्तकको हेरचाह गर्न थालेको तीन दशक बित्यो । हरेक बिहान ३ बजे उठ्ने, ध्यान र मर्निङवाक गर्ने, एक ग्लास दूध तताएर खाने अनि पुस्तकालय पुग्ने उनको दैनिकी नै हो ।

जीवनका झण्डै तीन दशक बन्दुकलाई साथी बनाएका गुरुङका अहिले पुस्तक साथी बनेका छन् । दिनभर तिनै पुस्तक मिलाउने, धुलो टक्टक्याउने र पुस्तकालयमा आउने पाठकहरूसँग भलाकुसारी गर्ने काममै उनको समय बित्छ । उनी पुस्तकलाई आफ्नै सन्तान जसरी माया गर्छन्, किनभने यी किताबले उनलाई आफ्नो स्वर्गीय छोराको सम्झना गराउँछन् । उनी भन्छन्, ‘यी किताबसँग खेल्दा, छोरासँगै खेलिरहेजस्तो लाग्छ ।’

खोटाङका गुरुङ वि.सं.२०२० मा ब्रिटिस सेनामा भर्ना भएका थिए । १६ वर्षपछि पेन्सन पकाएर फर्किए लगत्तै उनी २०३६ सालमा सेक्युरिटी गार्डमा काम गर्न ब्रुनाई गएका थिए । गुरुङको धरानसँगै काठमाडौंको कालोपुलमा घर थियो । एक्लो छोरो विमल गुरुङ कविता लेख्ने, पत्रिका निकाल्ने, पुस्तकालय खोल्ने जस्ता सृजनशील काममा लागेको देख्दा उनी हर्षित थिए ।

विमलले धरानमा ‘बुद्ध वाचनालय’ खोलेका थिए । उनी ‘ईंटा’ नामको साहित्यिक पत्रिका पनि निकाल्थे, काठमाडौंको दृष्टि साप्ताहिकमा नियमित लेख्थे । साहित्य र पत्रकारितामा लागेका छोरालाई पूर्णबहादुर राजनीतिमा चाहिँ नलाग्न सल्लाह दिन्थे । किनभने उनलाई राजनीति आफूहरूजस्ता सोझासिधाले गर्ने काम होइन भन्ने लाग्थ्यो ।

बु्रनाईबाट छुट्टीमा आएका उनी २०४८ साल वैशाख ९ गते काममा फर्किए । त्यसबेला देशमा चुनाव आउन लागेको समय थियो । चुनावका लागि त्यही वैशाखको २४ गते विमल, उनकी आमा सरस्वती र सानीआमा धरान आउँदै थिए । उनीहरू चढेको बस धादिङको जुगेपानीमा दुर्घटना हुँदा विमलको घटनास्थलमै मृत्यु भयो । आमा घाइते भइन् ।

१९ वर्षीय छोरो गुमाएपछि गुरुङ परिवारमा सन्नाटा छायो । पूर्णबहादुर ब्रुनाईको जागिर छाडेर तुरुन्तै नेपाल फर्किए । उनी विक्षिप्त जस्तै बने । ‘छोराको कोठामा पस्यो जता पनि किताबै किताब देख्छु । धरानको घरमा पनि किताबै किताब थिए । ती किताबले छोराकै मात्र झझल्को आइरह्यो’ उनी भन्छन्, ‘दुई तिरका घरमा गरी चार–पाँचसय किताब थिए । तिनलाई के गरौं, कसो गरौं झैं भयो । त्यसपछि छोराकै इच्छा पूरा गर्न पुस्तकालय खोलेँ ।’

लामो समय विदेश बसेका गुरुङले छोरासँग धेरै समय बिताउन पाएनन्, त्यसैले छोराले गरिरहेको गतिविधि धेरै बुझेका पनि थिएनन् । छोरोको निधनपछि उनका साथीहरूसँग कुरा गर्दा पो उनले छोराले राम्रो काम गरिरहेको थाहा पाए । त्यसपछि उनलाई छोरा र पुस्तकहरूको झनै माया लाग्यो ।

कोठामा विभिन्न साहित्यिक पुस्तकसँगै माक्र्स, एङ्गेल्स, लेनिनहरूका किताब थिए । यी किताबहरू फाल्न पनि सकेनन्, कसैलाई दिन पनि मन मानेन । विमल बितेपछि पूर्णबहादुरलाई भेट्न मनमोहन अधिकारी, माधव नेपाल, मोदनाथ प्रश्रितलगायतका नेताहरू आए । उनीहरूले पुस्तकालय खोल्न सल्लाह दिए ।

त्यसपछि काठमाडौंको घर छोरीको नाममा पास गरिदिएर उनी धरान फर्किए अनि पहिला छोराले ‘बुद्ध वाचनालय’ खोलेका छेउमै २ लाख ७५ हजारमा १० धुर जग्गा किनेर दुई तले घर बनाए । त्यसबेला घर जग्गाका लागि उनले करिब ५ लाख खर्च गरेका थिए ।

१९ कात्तिक २०४८ मा मोदनाथ प्रश्रित लगायत कवि, साहित्यकारको भेला गरेर ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ को उद्घाटन भयो । त्यसयता उनको दिन यही पुस्तकालमा बित्ने गरेको छ । अहिले पुस्तकालयमा १० हजार भन्दाबढी पुस्तकहरू छन् । गुरुङले पुस्तकालयका लागि ५० लाखको अक्षयकोष बनाएका छन् ।

त्यसैबाट हरेक वर्ष राष्ट्रिय स्तरको कविता प्रतियोगिता आयोजना हुन्छ । युवा प्रतिभा पुरस्कार प्रदान गरिन्छ । गुरुङले पुस्तकालय खोलेपछि छोराले प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका ‘ईंटा’ का पनि सात अङ्क प्रकाशन गरे भने दुईवटा कविता सङ्ग्रह प्रकाशन गरे । उनले पत्रपत्रिका किन्न वार्षिक ५० हजार हाराहारी खर्च गर्ने गरेका छन् ।

पूर्णबहादुर र उनकी श्रीमती सरस्वती मिलेर पुस्तकालयको रेखदेख गर्दै आएका थिए । केही वर्षअघि श्रीमती बितेपछि अहिले उनी एक्लै पुस्तकालय सम्हालिरहेका छन् । काठमाडौंमा रहेकी छोरी शान्तिले बुबाको काममा सहयोग गर्छिन् । पुस्तकालय सञ्चालनका लागि समिति बनेको छ । पल्टनका धेरै साथीहरू अहिले बेलायत, हङ्कङ पुगेका छन् ।

तर, पूर्णबहादुर भने यही पुस्तकालय, यहीँको समाजलाई छाड्न सक्दैनन् । जीवनमा पढ्नका लागि स्कुल नटेकेका पूर्णबहादुरको जीवनभर अरूलाई पुस्तक पढाउने सोच छ । उनी भन्छन्, ‘मैले पढ्न नपाए पनि अहिले अरूले राम्रोसँग पढिदिए हुन्थ्यो जस्तो लाग्छ । अहिले पुस्तक पढ्ने मान्छे घट्दै गएकोमा चिन्ता लाग्छ ।’

पूर्णबहादुरले समाजलाई दिइरहेको ज्ञान धेरैले मूल्याङ्कन गर्लान्, नगर्लान् । तर, निर्देशक प्रणय लिम्बूले भने उनको यो प्रेरणादायी कथालाई फिल्ममा उतारे । रविन गिरीको कथामा निर्माण भएको ‘उर्मि’ मा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र स्व.उत्तरकुमार राईलाई प्रस्तुत गरिएको छ । दीपक बज्राचार्यको छायाङ्कन र चन्दन दत्तको सम्पादन रहेको ‘उर्मि’ का निर्माताहरू डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजित सुब्बा, जगत अम्बु गुरुङ, सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल, पवन घिमिरे र स्व.किसन राई हुन्