विजयपुर । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले वैदेशिक रोगगारबाट फर्किएका महिलाहरूलाई पुनः एकीकरण गर्न माग गरेको छ ।

बुधबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) लाई मागपत्र बुझाउँदै पुनः एकीकरण गर्न माग गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेद्वारा हस्ताक्षरित मागपत्रमा सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित हालका कानूनहरूलाई परिमार्जन गर्दै पुनः एकीकरणको स्पष्ट कानूनी तथा नीतिगत व्यवस्था गर्न माग गरेका छन् ।

वैदेशिक रोजगारसम्बन्धी प्रचलित ऐन, महिलाहरूको अनुभव र महिलालाई दिएको दर्जा र असरप्रति सचेत हुँदै परिमार्जन गर्न माग गरेको छ ।

वैदेशिक रोजगारसम्बन्धी सूचना पहुँचमा हुने व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने महिलालाई भाषा, संस्कृति, र आवश्यक सीपका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, सहज, भरपर्दो तरिकाले जाने व्यवस्था र समस्यामा परेमा तत्काल उद्धार गर्नुपर्ने माग गरेको छ ।

साथै योगदानमा आधारित प्रावधानले सबैलाई नसमेट्ने हुँदा पूर्ण रूपमा परिमार्जन गर्नुपर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन र पुनस्र्थापनाबारे राष्ट्रिय र स्थानीय तहमा सहज रूपमा प्राप्त गर्न व्यवस्थापन गर्न माग गरेको छ । वैदेशिक रोजगारी फर्किएकाहरूको क्षमता प्रमाणीकरण गरी लक्षित कार्यक्रम ल्याउनु पर्नेलगायतको १२ बुँदे माग गरेको हो ।