धरान । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्नका लागि संसद् अधिवेशन आह्वान गरेको छ ।

नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशनमा ‘प्रि–बजेट’ का विषयमा छलफल हुने जनाइएको छ ।

सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ । सोहीअनुसार प्रि–बजेटमा छलफलपश्चात् जेठ ७ गते संसद्मा सार्वजनिक गर्ने कार्ययोजना बनेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । उक्त नीति तथा कार्यक्रम पेश गरेपश्चात् त्यसको संशोधन र छलफल भने ८ गतेदेखि ११ गतेसम्म गरिने भएको छ ।

संवैधानिक प्रावधानअनुसार जेठ १५ गतेभित्र सङ्घीय सरकारले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार नै राष्ट्रपति भण्डारीले अधिवेशन डाकेकी हुन् ।

तर, यो अधिवेशनमा पनि प्रतिपक्षमा रहेको दल नेकपा (एमाले) का सांसद्हरूले विरोध गर्ने सम्भावना जीवित नै रहेको छ । यसअघिका अधिवेशनमा पनि प्रतिपक्षी दलका सांसद्ले विरोध गर्दै आइरहेका थिए । बजेट अधिवेशनका लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्डलगायतका भौतिक तयारी पूरा गरिसकेको जनाएको छ ।

अर्थमन्त्री शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटका विषयमा छलफल हुनेछ । जेठ ३ गतेबाट नै प्रतिनिधिसभासँगै राष्ट्रियसभाको बैठक पनि सुरु हुने जनाइएको छ ।