धरान । नेपाल मगर सङ्घ धरान नगर समितिले धरानमा मगर अक्खा लिपिको प्रशिक्षण सम्पन्न गरेको छ ।

धरान उपमहानगरपालिकाको सहयोगमा सम्पन्न प्रशिक्षणमा जम्मा ६५ जना सहभागी भएका छन् । धरानका विभिन्न ४ स्थानमा प्रशिक्षण सञ्चालन गरिएको सङ्घका नगर अध्यक्ष चित्रराज थापा मगरले बताए । उनका अनुसार सङ्घले धरानमा विभिन्न चार समूह बनाई सात–सात दिनको तालिम सञ्चालन गरेको हो । समूह ‘क’ को तालिम वैशाख २ देखि ८ सम्म धरान–१९ स्थित किरातेश्वर माविमा सञ्चालन भएको थियो ।

उक्त तालिममा १० महिला र ४ पुरुष गरी जम्मा १४ जना सहभागी थिए । त्यस्तै समूह ‘ख’ को वैशाख २ देखि ८ सम्म धरान–१७ को पञ्चकन्या माविमा सञ्चालन भएको तालिममा १३ महिला र ९ पुरुष गरी २२ जना सहभागी थिए भने समूह ‘ग’ को वैशाख ९ देखि १५ सम्म धरान–१३ को अमर आधारभूत विद्यालयमा सञ्चालित प्रशिक्षणमा ७ महिला र ७ पुरुष गरी १४ जना सहभागी थिए ।

त्यस्तै समूह ‘घ’ को वैशाख ९ देखि १५ सम्म धरान–१८ स्थित जेम सेकेन्डरी बोर्डिङ स्कुलमा सञ्चालन भएको तालिममा ९ महिला र ६ पुरुष गरी १५ जना सहभागी थिए ।

प्रशिक्षार्थीहरूलाई लीला राना मगरले प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षकमा ६ वर्षीय बालकदेखि ६३ वर्षीय वृद्धसम्म सहभागी रहेको अध्यक्ष थापा मगरले बताए । प्रशिक्षार्थीमध्ये हरेक समूहबाट उत्कृष्ट छनोट गरिएको छ ।

समूह ‘क’ बाट धरान–१९ की खुसी थापा मगर, समूह ‘ख’ बाट धरान–१७ की शुष्मा थापा मगर, समूह ‘ग’ बाट धरान–१६ की प्रकाशकला राई र समूह ‘घ’ बाट धरान–११ की स्वस्तिका मगर र सोनिका मगर उत्कृष्ट घोषित भए । प्रशिक्षणमा ११ जना गैर मगरसमेत सहभागी थिए । सङ्घले हरेक वर्ष मगर अक्खा लिपिको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।