प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ ।

मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ । 

विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ । बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । विराटनगर विमानस्थल भर्खरै खुलेको छ । अन्य विमानस्थल पनि उडानमा सहजता भइरहेको एयरलान्सले जनाएका छन् । 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीले काठमाडौँसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको बताए । “प्रतिकूल मौसमले ठाउँठाउँका विमानस्थलमा उडान समस्या आएको थियो, अहिले बिस्तारै सहज बन्दै गएको छ । बर्षाका बेला आइएफआर उडान मात्रै भएका थिए”, उनले भने । उनका अनुसार यती एयरलाइन्सका कुनै पनि जहाज रद्द नभएको तर धेरै उडान ‘मोडिएका’ थिए । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ हेलिकप्टरसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले थप केही दिन बदली र वर्षा हुने महाशाखाको अनुमान छ ।