बिर्तामोड । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट प्रसिद्ध जगतगुरु शंकराचार्यस्वामी झापा आउने भएका छन् । उनी साङवेद संस्कृत बिद्यालयमा आयोजित समारोहमा सहभागि हुन झापा आउन लागेका हुन् ।

अनन्त विभूषित जगतगुरु शंकराचार्य स्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने पक्का भएको स्वागत समारोह आयोजक मुल समितिका संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिए । बैशाख ७ गते जगतगुरु शंकराचार्य झापा आउने कार्यक्रम रहेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

चारपानेमा रहेको साङ्गवेद संस्कृत विद्यालयमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । हिन्दू सनातन धर्मका सर्वाेच्च विद्धान एवम् साहित्यकार, विचारकका रुपमा समेत परिचित उनी झापा आउनु नै महत्वपूर्ण रहेको नेपाल सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले जानकारी दिए ।

आध्यात्मिक र धार्मिक क्षेत्रमा जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजीको स्थान विश्वमै उच्च रहेको गौतमले बताए । शंकराचार्य स्वामीको नेपाल आगमनको मुल उद्देश्य आध्यात्मिक ज्ञानको प्रचार र धार्मिक जागरण ल्याउने रहेको संयोजक अग्रवालले बताए ।

निश्चलाचन्द्र सरस्वती महाराजजीको आगमनका लागि स्वागतार्थ अहिले सम्पूर्ण तयारी पूरा गरिएको र उनको दर्शनसहित आशीर्वचन र आध्यात्मिक ज्ञान प्राप्त गर्दै लाभ उठाउन आयोजक समितिका कोषाध्यक्ष कुमार भट्टराईले आग्रह गरेका छन् ।

दुई सयभन्दा बढी आध्यात्मिक पुस्तक कृतिका रचनाकार धर्मगुरुको झापा बसाई दुई दिन रहने बताइएको छ । पत्रकार सम्मेलनमा संगोजक अग्रवालसहित सहसंयोजक हनुमान मित्तल, राजकुमार गुप्ता, पार्वता खरेल बिमली, सचिव देवी घिमिरे, कोषाध्यक्ष कुमार भट्टराई, सदस्यहरु मदनगोपाल सुब्बा, चन्द्रप्रकाश गिरी, सल्लाहकार हर्कलाल गिरी लयायत सहभागी थिए ।