धरान ।  इलाका प्रहरी कार्यालय धरानमा हालै काजमा आएका डिएसपी बुद्ध श्रेष्ठले निर्वाचन लक्षित शान्ति सुरक्षा बढाइएको बताएका छन् ।

धरानका सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम गर्दै सोमबार उनले भने, ‘निर्वाचन लक्षित शान्ति सुरक्षा बढाइएको छ ।’ उनले निर्वाचनका लागि केन्द्रबाट निर्वाचन अधिकृतसमेत आइसकेको बताए ।

उनले शान्ति सुरक्षाका लागि आफूहरू २४ सै घण्टा तैनाथ रहेको बताए । उनले निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गरिसकेकाले डर, त्रासबिना शान्तिपूर्ण तरिकाले मत दिने वातावरण तयार गर्ने जिम्मेवारी प्रहरीको रहेको बताए ।

उनले निर्वाचनका बेला होटल तथा रेष्टुराँहरू पनि सीमित समयसम्म मात्रै खोल्नका लागि अनुमति दिने तयारी भएको बताए । उनले जिल्ला प्रशासनको निर्देशनअनुसार राति १० बजेसम्म मात्रै होटल तथा रेष्टुराँहरू खोल्न दिइने बताए ।

प्रहरी २४ सै घण्टा सेवामा रहने बताउँदै उनले मापासेदेखि सबै खालका सुरक्षामा ध्यान दिने बताए । चोरीका घटना बढेको विषयमा सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्था कडा बनाएका छौं । तपार्इंहरूले पनि सूचना पाउनुभयो भने हामीलाई जानकारी दिनुस् ।’